पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्धतमा इटालियन सिरी ‘ए’ अन्तर्गत युभेन्टसले पार्मामाथि सानदार जित दर्ता गरेको छ ।
पार्मामा शनिबार राति भएको खेलमा युभेन्टसको सहज जितमा रोनाल्डोको दुई गोलसँगै डिजान कुलुसेभ्स्की र अल्भारो मोराटाले १ /१ गोल गरे ।
खेलको २३औं मिनेटमा एलेक्स सान्द्रोको पासमा डिजान कुलुसेभ्स्कीको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै २६औं मिनेटमा अल्भारो मोराटाको पासमा रोनाल्डोले सानदार गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा रोनाल्डोले आरोन राम्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–० ले अघि बढाए । खेल सकिन ४ मिनेटमा बाँकी रहँदा फेडरिको बर्नरडेस्चीको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई ४–० को फराकिलो जित दिलाए ।
जितसँगै युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी (२७) गरेपनि तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया