Logo

प्रमुख समाचार

भरतपुर विवाद : रेणु दाहालले उपमेयर शाहलाई यस्तो जवाफ दिइन्



भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखबीचको विवाद उत्कर्षमा पुगेको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफ्नो आक्रोश व्यक्त गरेकी उपप्रमुख पार्वती शाहले लगाएको आरोप प्रमुख मेयर रेणु दाहालले नियमित पत्रकार सम्मेलन गर्दै जवाफ दिएकी छिन् ।

उनले आफू महानगरको विकास र समृद्धिका तल्लिन भएको भन्दै उपप्रमुख शाहले मिथ्या आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको दाबी गरिन् । अन्तरिक रुपमा केहि समस्यामा आएपछि एक ठाउँमा बसेर गहन छलफल गरेर समस्याको निकास दिन नसक्दा दुवै जनाको आक्रोश मिडिया मार्फत छताछुल्ल भएको छ ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दुई पटक पत्रकार सम्मेलन गरेर प्रमुख दाहादमाथि आरोप लगाएपछि मेयर रेणुले काउन्टर दिएकी हुन् ।

‘म र महानगरपालिकाको कर्मचारी माथि नभएका झुठा विवरण सार्वजनिक गर्दै वदनाम गर्दै हिड्नु भएको छ’ उनले भनिन्त, ‘तथ्यहिन विषयलाई मिडियावाजी गर्दै चितवनदेखि काठमाण्डौसम्म पुगेर पत्रकार सम्मेलन गरी झुटा विषय उचाल्नु भएको छ ।’

महिलाहरुले नेतृत्व गरेको ठाउँमा नमुना बनाउने भनेर लाग्दा आफै अतालिएर हिडेको प्रमुख दाहालले टिप्पणी गरिन् । उनले उपमेयर शाहले आफ्नो सचिवालय देखि सबै क्षेत्रमा नातागोतालाई नै जागिर लगाएको समेत आरोप लगाइन् ।

‘मलाई व्यक्तिगत लाभ लिनु केही छैन्, महानगरको विकासमा कटिबद्ध छु, अनावश्यक विवादमा मुछेर मेरो चरित्र हत्याको प्रयास भयो’ , दाहालले भनिन् ।

मेयर दाहालले उपमेयर शाहले लगाएको एक एक आरोपको खण्डन गरिन् । उनले उपमेयर शाहले आफूमाथि लगाएका आरोप पुष्टी गर्न चेतावनी समेत दिइन् । उपमेयरले लगाएका सबै आरोप झुटा र मनगढन्ते भएको उनले दावी गरिन् ।

उपमेयरले आफ्ना ४ जना नजिकका नातेदारलाई सचिवालयमा राखेको र एकजना भतिजिलाई कम्प्युटर अपरेटर नियुक्ति गर्न ताकेता गर्दै आएकोमा प्रमुख प्रशासकीय अधिकृतले नियमले नमिल्ने भन्दै फर्काएपछि त्यसैको विरोधमा उपमेयर शाह पत्रकार सम्मेलन गर्दे हिडेको प्रमुख दाहालको दावी छ ।

उपमेयर पनि महानगरको दोस्रो जिम्मेवार व्यक्ति भएकोले आफूमै भएको कमजोरी खोज्न र जथाभावी नबोल्न दाहालले आग्रह गरिन् ।महानगरपालिकाले गरेको अनियमितता, भ्रष्टाचार, आर्थिक हिनामिना वा कुनै पनि विषयमा कमजोरी भएको भए प्रमाणसहित आएमा आफूले सजाय भोग्न तयार भएको दाहालको चुनौती छ ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले आफूले कुनैदिन पनि गलत मनसाय राखी जनप्रतिनिधीलाई व्यवहार नगरेको जिकिर गरे । उनले आफूले गल्ती गरेको प्रमाण दिए माफी माग्न पनि तयार रहेको भन्दै आफू गल्ती नगरेको दावी गरे ।

भरतपुर विकासको तीव्र गतिमा अगाडि बढिरहेको सन्दर्भमा आपसी विवाद र खिचातानीले गन्तव्यमा पुग्न नसकिने भन्दै उनले नमिलेका विषयमा छलफलबाट टुंगो लगाउँदै अगाडि बढ्न सबैमा आग्रह गरे ।

उपप्रमुख शाहले भरतपुर र काठमाण्डौमा पत्रकार सम्मेलन गरी महानगरमा अर्थिक अनियमिता भएको, काम राम्रोसँग नभएको, प्रशासकीय प्रमुखले नटेरेको, विकास नभएको, समितिहरु पूर्ण नभएको, आफूलाई वेवास्ता गरेको जस्ता आरोप लगाएकी थिइन् ।

गएको स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र काँग्रेसले तालमेल गरेका थिए । दाहाल माओवादीको तर्फबाट र शाह काँग्रेसको तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ९ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।