नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई प्रतिबन्ध लगाईएको विषयले वाद विवाद सुरु भएको छ । यसलाई लिएर नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल आरोप–प्रत्यारोपमा उत्रिएका छन् । ओलीले विप्लवमाथि आफुलाई जानकारी नै नदिई र पार्टिभित्र छलफल नै नगरी नेपालले प्रतिबन्धको निर्णय गरेको भन्दै बाद विवादमा उत्रिएका हुन ।
बुधबार संसदबाट बाहिरिने क्रममा नेता नेपालले पत्रकारहरूसँग ‘राष्ट्रिय महत्वको कदम चलाउनुअघि पार्टी्भित्र छलफल नचलाएको’ भन्दै आफ्नै पार्टीको सरकारको आलोचना गरेका थिए।
‘मलाई त थाहा छैन’, विप्लवलाई प्रतिबन्ध लगाएको विषयमा पत्रकारको जिज्ञासामा नेता नेपालले तिक्तता पोख्दै भनेका थिए, ‘सोधेपछि सल्लाह गरेपछि डिफेन्ड गर्छन्। मौरी जस्तो जाइलाग्छन्। वास्तै गरिएन भने किन जिम्मा लिने कसैले।’
उनले विप्लवलाई प्रतिबन्ध ‘प्रचारात्मक प्रवृत्ति’ भएको बताए । ‘आफैं फटाफट निर्णय गर्ने काम भएको छ’, नेता नेपालले छलफल नभएको उल्लेख गर्दै भने, ‘यी चिज ठीक होइनन्।’ उनले देशलाई चुनौती दिने, विखण्डन गर्ने कुनै पनि अभिव्यक्ति छुट पाउन नहुने तर्क राखे।
‘मुलुकको सरकारको वैधानिकता स्वीकार गर्न बाधा अवरोध आउँछ भने पन्छाउनै पर्छ’, नेपालले भने, ‘सरकारले त्यस्तो चिज गरेको छ भने सबै पक्ष सोचेर गरेको होला।’
नेता नेपालले राखेको धारणाको प्रधानमन्त्री ओलीले साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट जवाफ फर्काए। ‘हाम्रो पार्टीको कोही नेताले प्रतिबन्ध लगाउन हुँदैन भन्नै सक्दैन’, ओलीले भने, ‘त्यो हुन सक्दैन।’ उनले विप्लव देखाइ दिनसमेत पार्टीका नेताहरूलाई चुनौती दिए।
‘मलाई देखाइदिओस्, कसैले विप्लव कहाँ हुनुहुन्छ? प्रकाण्ड कहाँ हुनुहुन्छ? अरू विभिन्न काण्ड कहाँ हुनुहुन्छ’, ओलीले भने, ‘जब उहाँहरू लुकेर अपराधिक क्रियाकलाप गरिरहनु भएको छ भने प्रतिबन्ध उहाँहरूले आफूलाई लगाउनु भएको छ।’ उनले विप्लवको अपराध कर्ममा प्रतिबन्ध लगाएको प्रष्ट पारे।
‘लुकेर अपराध गरिरहनु भएको छ। अपराध कर्ममा हामीले प्रतिबन्ध लगाएका छौं। अपराध कर्म गर्न पाइन्न,’ ओलीले भने, ‘लुक्न पाउँछ। घरमा बसिरहन पाउँछ। तर अपराध गर्न पाइन्न। हाम्रो सरोकार अपराधसँग छ।’
लगत्तै उनले पार्टीको नेताले प्रतिबन्ध गलत भन्न नसक्ने दाबी दोर्होयाए । ‘हाम्रो पार्टीको कसैले त्यसो भन्न सक्दैन’, ओलीले भने, ‘कुनै नेताले यसो भन्नुभयो भन्ने प्रचारबाजी होला। मलाई विश्वास छैन।’ ओलीले विप्लव समूहको गितिविधिलाई आतंककारी गतिविधीका रूपमा टिप्पणी गरे।
‘बम पड्काउन पाइन्छ भन्ने मान्छे मारिरहन पाइन्छ भन्ने लुटिरहन पाइन्छ भन्ने’, उनले प्रश्न गरे, ‘नेपालमा उर्जाको विकास गर्न नदिने, हाइड्रोपावर स्टेशन पड्काइदिने, सञ्चारको विकास गर्न नपाइने, टावरहरू पड्काइदिने, विकास निर्माणका काम गर्न नपाउने, चन्दा भन्ने लुटमार हिस्सा खोज्ने, विकासको काम अगाडि जान नदिने। वैदेशिक लगानी देशभित्र आउन नदिने। को पर्छ परोस्। जो मर्छ मरोस् भन्ने अमानविय यसप्रकारका आतंककारी र विध्वसंकारी आपराधिक क्रियाकलाप हुनु हुँदैन।’
‘छाड्नुस् यो गतिविधि होइन भने सरकारको कर्तव्य हो शान्ति सुव्यवस्था कायम गर्ने काम गर्छ,’ ओलीले भने, ‘म सुन्ने गरी भन्न चाहन्छु (सरकारले नियन्त्रण गर्छ। सरकारले यसप्रकारका गतिविधि भैरहन दिन सक्दैन।’
प्रतिक्रिया