Logo

कर्पोरेट फोकस

वर्ल्ड लिंकले विदेशी लगानी थप गर्दै सेयर निष्काशन गर्ने



वर्ल्ड लिंक कम्युनिकेसनले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । 
वर्ल्ड लिंकको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वर्ल्ड लिंकका संचालक दिलीप अग्रवालले सोहीको जानकारी दिएका हुन् । 

‘हामी सर्वसाधारणका लागि आइपीओ जारी गर्ने पूर्वतयारी सुरु गरिसकेका छौं ।’ अग्रवालले भने–‘यसैको तयारी स्वरुप गत वर्ष हामीले कम्पनीलाई पब्लिक लिमीटेडमा दर्ता गरेका थियौं । अब बाँकी प्रक्रियाहरु अगाडि बढाउनेछौ ।’ 

अग्रवालले अहिले सुरु गरिएको प्रक्रिया पूरा भई आइपीओ निश्कासन हुने अवस्था बन्दासम्म ३ वर्ष समय लाग्नसक्ने समेत प्रष्ट्याए । 

वर्ल्डलिङ्कले ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने घोषणा गरेको हो ।  सीईओ केशव नेपालले नेटवर्कमा बढ्दै गएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको बताए ।

त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष अग्रवालको भनाई छ । सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ पहल भइरहेको जनाएको छ ।

हाल वर्ल्ड लिंकको सेवा देशका ७४ जिल्लामा पुगिसकेको छ । इन्टरनेट प्रदायक कम्पनीहरुमा नेतृत्वदायी भूमिका खेलिरहेको वर्ल्ड लिंकका देशभर ४ लाख बढी घरेलु ग्राहक रहेका छन् । यो कम्पनी उच्च नाफा कमाइरहेको कम्पनी पनि हो । 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : ३६ बजे