Logo

प्रमुख समाचार

लगानी सम्मेलनको तयारी पूरा, ४० देशका ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुने



सरकारले यही चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।अर्थमन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै विभिन्न ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६ सयभन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ । त्यसैगरी करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी भएको मन्त्री खतिवडाले बताए ।

खतिवडाले सरकारका लागि स्वदेशी र विदेशी लगानीकर्ता बराबर भएको पनि बताए । उनले नेपालमा विदेशी लगानी भित्र्याउने सवालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन९फिटा० ल्याइएको र स्वदेशी लगानीकर्ताका लागि समेत सार्वजनिक औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रस्तुत गरिने परियोजना तयार भइसकेको बताए । नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्थिर सरकारसँगै श्रम र उर्जा समस्या हल भइसकेकाले लगानीको वातावरण बनेको जिकिर गरिन् । उनले समृद्धिलाई सरकारले लक्ष्य बनाएको भन्दै यसलाई सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताइन् ।

सम्मेलनको पहिलो दिन नेपाल सरकारका तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताका लगानीसम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र संचालन हुने मन्त्रालयले जनाएको छ । त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्र संचालन हुनेछन् ।

सम्मेलन सफल रुपमा आयोजना गर्न अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा। खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ ।

प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार  ८ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।