Logo

प्रमुख समाचार

विप्लवले चैत्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता !



नेपाल कम्युनिष्ट पार्टीले यहि चैत्र १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ । सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

नेकपा महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीमाथिको प्रतिबन्ध हटाउन ओली सरकारलाई चैत मसान्तसम्मको अल्टिमेटम समेत दिएका थिए ।

चरणबद्ध संघर्षका कार्यक्रम अनुसार चैत १६ गते शनिबार नेकपाले नेपाल बन्दको घोषणा गरेको थियो । तर १६ गतेको बन्द फिर्ता भएको छ । यस विषयमा जानकारी दिन नेकपाले केहीबेरमै विज्ञप्ति सार्वजनिक गर्न लागेको नेकपा केन्द्रीय सदस्य गुणराज लोहनीले बताए।

यसअघि नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टीसँग आग्रह गरेको थियो । १६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन समेत हुन गइरहेको छ ।

नेकपाले आव्हान गरेको नेपाल बन्दका कारण आफूहरुको निर्वाचन प्रभावित हुने भन्दै बार एसोसिएसनले बन्द फिर्त लिन आग्रह गरेको हो । एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने बताएका छन् ।

नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने स्पष्ट व्यबस्था हुँदाहुँदै पनि ओली सरकारले त्यसको बिरुद्ध गएर विप्लव नेतृत्वको नेकपामाथि गैर संबैधानि तरिकाले प्रतिबन्ध लगाएको एसोसिएसनले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ(‘नेपाल सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मिति २०७५ फागुन २८ गतेदेखि लगाएको प्रतिबन्ध नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाउने स्पष्ट संबैधानिक व्यबस्थाको प्रतिकुल हुनेगरी भए गरेको मन्त्रिपरिषद्को निर्णय गैर संबैधानिक रहेको नेबाएको ठहर छ ।’

सरकारको गैर संबैधानिक प्रतिबन्धको विरोधमा नेकपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । विज्ञप्तिमा अगाडि भनिएको छ – ‘प्रतिबन्ध लगाइसके पश्चातको घटनाक्रमले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु गिरफ्तार गरेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा मिति २०७५ चैत्र ११ गते जारी वक्तव्यबाट मिति २०७५ चैत्र १६ गते शनिबारका दिन नेपाल बन्दको कार्यक्रम रहेको जानकारी हुन आएकोले उक्तदिन नेपाल बार एसोसिएसनको पूर्वघोषित कार्यक्रम अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन हुने र सोहि बमोजिम निर्वाचन समितिले आफ्नो कार्यक्रमहरु प्रकाशित गरी नपालभर बिभिन्न स्थानहरुमा मतदान केन्द्रहरु तोकी सम्पूर्ण कानुन व्यवसायीहरुलाई निर्वाचनमा मतदान गरी नयाँ कार्यसमिति निर्वाचित हुने कार्यक्रम रहेकोले चैत्र १६ गतेको नेपाल बन्द तात्कालै फिर्ता लिन नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ नेतृत्व समक्ष आग्रह गर्दछौं ।’

यस्तै बुधबार राष्ट्रिय मानवअधिकार आयोगले पनि नेपाल बन्द फिर्ता लिन नेकपालाई आग्रह गरेको थियो ।

प्रकाशित मिति : चैत्र १३, २०७५ बुधबार  २ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।