Logo

समाचार

हुम्लामा २० किलो चामल प्रभावकारी बन्दै



सरकारले कर्णालीलगायतका हिमाली जिल्लामा दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल हुम्लामा प्रभावकारी बन्दै गएको छ ।

गत साउनदेखि बैसाख १५ गतेसम्म जन्ममा २ सय ५० परिवारलाई २० किलोका दरले ५० क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए। परिवारका सदस्य गुमाएका (मृत्यु भएका) १ सय ३ परिवारलाई २० किलोका दरले २० क्विन्टल ६० किलो चामाल वितरण भएको खाद्य संस्थान शाखा कार्यालय हुम्लाले जानकारी दिएको छ।

यो सेवा लिनका लागि नेपाल खाद्य संस्थान हुम्लाले ६ महिनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको प्रमाणपत्र तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ।

सिमकोट आसपसाका गाउँमा ढुवानीका लागि ५ सय थप रकम दिने गरिएको छ। अन्य टाढाका गाउँका बासिन्दालाई भने १ हजार रुपैयाँ ढुवानीका लागि दिने गरिएको नेपाल खाद्य संस्थान हुम्लाले जनाएको छ।

सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा २० किलो चामल निःशुल्क दिने गरेपछि हुम्लाका बासिन्दालाई सहज भएको नेपाल खाद्य संस्थान कार्यालय हुम्लाले बताएको छ। २० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको सिमकोट गाउँपालिका–२ का नवराज भण्डारी बताउँछन्।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गरेका थिए। प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा चर्चापरिचर्चा र टिकाटिप्पणीले व्यापक स्थान लियो।
आफूलाई बुझ्नेरठान्नेमध्येका थोरैले सरकारको सकरात्मक सम्बोधन भएको प्रतिक्रिया दिए तर धेरैले कर्णालीवासीलाई जन्म र मृत्युको २० किलो चामलसँग दाँजेर अपमान गरेको रोषपूर्ण अभिव्यक्ति प्रकट गरेका थिए। यद्यपि पछिल्लो समयमा तत्कालीन सरकारले सम्बोधन गरेको जन्म र मृत्यु संस्कारमा गरिँदै आएको चामल वितरण कार्य भने प्रभावकारी बन्दै गएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०५:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।