राजविराज । प्रहरी संगठन घुमुवाहरूकै कारण ज्यादै बदनाम बन्दै आएको छ । सूचना संकलनका लागि कार्यालय प्रमुखले सिभिलमा परिचालन गरेको भनिए पनि यथार्थमा त्यस्ता सिभिलमा परिचालित घुमुवाहरू हाकिम र आफ्ना लागि रकम उठाउने अभियानमा सक्रिय हुँदै आएका कारण पनि यिनै घुमुवाका कारण प्रहरी संगठन नै बदनाम हुने गर्दछ ।
विशेष गरेर २ नम्बर प्रदेशमा त घुमुवा प्रहरीको आतंक व्यापकमात्रामा बढिरहेको छ । सीमा क्षेत्रमा हुने तस्करीधन्दा घुमुवाकै कारण संरक्षित हुने गर्दछ भने तस्करहरूसँग मोटो रकम लिएर तस्करी भएको सामान आफ्नो क्षेत्र कटाएर पठाउने कामसमेत यिनै घुमुवाहरूले गर्दछन् । हुँदाहुँदा कार्यालय प्रमुखका नाममा घुमुवाले तस्करहरूदेखि व्यापारीसँग रकम त असुली गरे नै मातहतका चौकीका प्रमुखहरूलाई समेत घुमुवाले रकम उठाउने गरेको घटना सप्तरीमा देखिएको छ ।
अन्य जिल्लाहरूमा सीमा क्षेत्रका अतिरिक्त कमाइ हुने चौकीका प्रमुखहरूले जिल्लाको प्रहरी प्रमुखलाई सोझै भेटी मासिकरूपमा रकम बुझाउने गर्ने प्रचलन रहिआएकोमा सप्तरीमा भने घुमुवा प्रहरीले एसपीका नाममा रकम उठाउने गरेको गुनासो चौतर्फीरूपमा बढ्न थालेको छ । एसपी राजेन्द्र विष्टलाई दिनुपर्छ भन्दै विष्टले खटाएका घुमुवा असई मोतिराम महतोले मातहतका चौकीका प्रमुखहरूलाई दबाब दिई रकम लिने गरेको समेत खुलासा भएको छ ।
लामो समयदेखि सप्तरीमा घुमुवाका रूपमा परिचालित असई मोतिराम महतोलाई जनकपुरमा विवाह पञ्चमीका बेला थप मद्दतका नाममा बोलाइए पनि भोलिपल्ट नै पुनः उनलाई सप्तरी पठाइएको थियो । नम्बर प्रहरी प्रदेश कार्यालयमा कार्यरत एसपी सन्तोष खड्का (क्राइम ब्रान्च टोलीका प्रमुख, उनको कमाण्डमा दुई दर्जन प्रहरीहरू घुमुवाका रूपमा परिचालित छन्) सँग अत्यन्तै नजिकको सम्बन्ध भएकै कारण घुमुवा असई मोतिराम महतो विवाहपञ्चमीको भोलिपल्ट नै सप्तरी फर्की पूर्ववत्अवस्थामा नै कार्यरत रहिरहेका छन् । निजले सप्तरीको सीमा क्षेत्रका अलावा अतिरिक्त आम्दानी हुने चौकीका प्रमुखहरूलाई बार्गे्निङ गरी रकम असुल्ने काम गरिरहेको एक चौकीका सईले जानकारी दिए ।
प्रहरी चौकी विमन, सप्तरी भएका घुमुवा असई महतोले रकम नदिएकै कारण एक सईलाई कुटेको जानकारी एसपी विष्टले थाहा पाए पनि कुनै कारवाही नगरेको जिप्रकामा कार्यरत एक सईले जानकारी दिए । सप्तरीको पासो, झुट्की, लौकही, बोडेबरतोहिन नाकाहरूबाट झोले पोकेका रूपमा तस्करी चलिरहेको छ । तस्करहरूले साइकल, मोटरसाइकललगायतका विभिन्न माध्यमहरूबाट दिनमा धेरै पटकसम्म सामान तस्करी गरी नेपाल भित्र्याउने गर्दछन् ।
यी नाकाबाट तस्करी गर्ने तस्करहरूबाट समेत घुमुवा असई मोतिराम महतोले रकम लिने गरेको गुनासो २ नम्बर प्रहरी प्रदेश कार्यालयमा बारम्बार परे पनि निजलाई तानेर कुनै छानविन गर्ने काम नभएको जिप्रकाकै प्रहरीहरू बताउँछन् । घुमुवा असई महतोलाई २ नम्बर प्रहरी प्रदेश कार्यालयका एसपी सन्तोष खड्काको संरक्षण रहेको समेत बताइएको छ ।















प्रतिक्रिया