Logo

समाचार

उपप्रधानमन्त्री यादवको पावरको दुरुपयोग गर्दै छोराले मच्चाए मन्त्रालयमा आतंक, यस्तो छ भित्रीकुरा



उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले दुई वटा सरकारी गाडी कब्जा गरेका छन् । स्वास्थ्य मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार अमरेन्द्रले जबरजस्ती दुई वटा गाडी लगेर दुरुपयोग गर्नुका साथै अन्य सेवा सुविधा पनि लिएका छन् ।

अमरेन्द्रले बुबाको पावरको दुरुपयोग गर्दै मन्त्रालयमा आतंक मच्चाएको गुनासो बढेको छ । मन्त्री यादवले आफ्नै छोरालाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन् । अमरेन्द्रले सहसचिव सरहको सेवा सुविधा पाउँछन् ।

मन्त्री यादवको प्रमुख स्वकीय सचिव भएपनि अमरेन्द्र मन्त्रालयमा धेरै भेटिदैनन् । अधिकांश समय अमरेन्द्र विराटनगरमा बस्छन् । उनले सरकारी सुविधाको गाडी चढेर विराटनगरमा राजनीतिमा सक्रिय हुने गरेका छन् ।

तत्कालीन संघीय फोरमको विराटनगर महानगरपालिकाको नगर कार्यसमितिको अध्यक्ष समेत रहेका अमरेन्द्रले ती दुई वटा सरकारी गाडीहरू विराटनरतिर कुदाउने गरेको आरोप छ । उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले आफ्नै छोरालाई विराटनगरको अध्यक्ष बनाएर राजनीतिमा आफ्नो उत्तराधिकारीका रुपमा अगाडि सारेका छन् ।

‘विराटनगरमा सक्षम नेताहरू हुँदा हुँदै उपेन्द्र यादवजीले आफ्नो छोरालाई अध्यक्ष बनाउनु भयो’, तत्कालीन संघीय फोरमका एक नेताले भने, ‘पार्टीभित्र यादव जातिको मात्रै जातीय राजनीति गर्दै आउनु भएका उपेन्द्र यादवले अरु जातिका नेता तथा कार्यकर्ता पार्टीमा देख्नु हुन्न ।’

यसअघि पनि उपेन्द्र यादवलाई मधेसमा यादव जातलाई मात्रै अवसर दिने गरेको आरोप लागेको थियो । आफ्नै छोरा अमरेन्द्रलाई अगाडि बढाउनुका साथै अवसरहरू दिएपछि त्यो आरोपको पुष्टि भएको छ ।

पार्टीको अध्यक्ष समेत रहेका मन्त्री यादवले आफ्ना छोरा अमरेन्द्रलाई आधा दर्जनभन्दा धेरै देशको भ्रमणका लागि पठाइसकेका छन् । अमरेन्द्रले बुबा उपेन्द्र यादवको पावरको दुरुपयोग गर्दै बेलायत, भियतनाम, चीन, इथियोपिया, भेनेजुएला लगायतका आधा दर्जन बढी देशको भ्रमण गरिसकेका छन् ।

अमरेन्द्रले चीनको भ्रमण दोहो¥याएर गरेका छन् । फेरि चीनको भ्रमणमा जाँदै छन् । २० मेमा अमरेन्द्र जेनेभा जाँदै छन् । अमरेन्द्रले विदेश घुम्नका लागि सूची बनाएर मन्त्रालयका सचिवलाई बुझाएको स्रोतको भनाइ छ । सचिवले पनि अमरेन्द्रको इच्छाबमोजिम कार्यक्रमहरू राख्ने गरेको आरोप छ ।

परराष्ट्रमन्त्री भएका बेला उपेन्द्र यादवले धेरै देशहरूको भ्रमण गरेर रेकर्ड बनाएका थिए । अहिले बुबा उपेन्द्र यादवलाई समेत अमरेन्द्रले उछिन्न थालेका छन् ।

यति मात्रै होइन अमरेन्द्रले सरुवा, बढुवा, ठेक्कापट्टा, औषधि खरिद लगायत अमिशन आउने सबै विषयमा हात हाल्ने गरेको मन्त्रालयका एक उच्च कर्मचारीले बताएका छन् । पछिल्लो समय अमरेन्द्रले अस्पताल, औषधि र मेडिकल क्षेत्रमा सामान आपूर्ति गर्ने माफियाहरूसँग साँठगाँठ गरेको आरोप छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार १३:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।