सुनसरी, मोरङ, उदयपुर, बाँके र कास्कीका विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । सुनसरी धरान उपमाहानगरपालिका-१० महेन्द्र कलेज अगाडि रहेको सोही ठाउँ बस्ने राजु राईको पानी फिल्टरको मेशिनमा शनिबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा पानी फिल्टर मेशिन र अन्य फर्निचर लगायतका सामानहरु जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । मोरङ सुन्दरहरैचा नगरपालिका-९ बुधबारेस्थित जय प्रसाद आचार्यको घरमा करेण्ट सर्ट भई शनिबार बिहान आगलागी हुँदा सुनका गहनाहरु करीब २५ तोला, नगद ३ लाख रुपैयाँ र भाँडावर्तन लगायत जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-२ श्रीरुझार बस्ने ३२ वर्षीय भिममाया मगरको घरमा शनिबार साँझ करेण्ट सर्ट भई आगलागी हुँदा घर, अन्नपात र लत्ताकपडा लगायत जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । उदयपुर चौदण्डीगढी नगरपालिका-३ बरगाछी बस्ने हिरा राईको कच्ची घरमा शनिबार साँझ करेन्ट सर्ट भई आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको धनमाल तथा सोही आगो छिमेकी नैन कुमार राईको घरमा समेत सल्कन गई सरसामानहरु जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके नेपालगंज उपमहानगरपालिका(२ बागेश्वरी टोलस्थित चरणजित सिंहको कपडा पसलमा शनिबार दिउँसो करेण्ट सर्ट भई आगलागी हुँदा पसलभित्र रहेका सामानहरु जलेर नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ । कास्की पोखरा महानगरपालिका-१४ खसीबजार बस्ने भरत केसीको मकर फर्निचर तथा सोफा उद्योगको स्टोरमा आइतबार बिहान आगलागी भएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया