Logo

समाचार

अफगानमा रक्तपात जारी रहेकै अवस्थामा शान्ति वार्ता शुरु



अफगानिस्तानमा राजनीतिक प्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको छ । 

महिनौंदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ, तर दुबै पक्षबीच गत वर्षका वार्ताहरुका आगामी वार्ताका लागि एजेन्डामा सहमति भएको छ जसलाई सुखद मानिएको छ । 

अफगान सरकारका वार्ताकारहरुले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिनेछन् । तालिबानी समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।

एक जना अफगान सरकारी वार्ताकार गुलाम फारुख मजरोहले  भने , “वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्चित छ । तर हामी जतिसक्दो चाँडो सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी छौं किनभने मानिसहरु यस रक्तपातपूर्ण युद्धबाट थकित भइसकेका छन् ।”

तर तालिबान समूहले भने कुनै टिप्पणी गर्न चाहेन  

महिनौंदेखिको ढिलाई पश्चात संघर्षरत पक्षहरुबीच पहिलो प्रत्यक्ष वार्ता सन् २०२० को सेप्टेम्बर महिनामा शुरु भएको थियो, तर छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको विवादले वार्तामा गतिरोध उत्पन्न भएको थियो । 

अमेरिकी घनीभूत कुटनीतिक प्रयत्न पश्चात् दुबै पक्षबीच वार्तामा बस्न पुनः सहमति जुटेको थियो । गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो ।

अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता शुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारीहरु, अधिकारवादीहरु र पत्रकारहरु लक्षित आक्रमणहरु भइरहेका छन् । काबुल प्रान्तका डेपुटी गभर्नर, पाँच जना पत्रकार र एक जना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका हमलामा ज्यान गइसकेको छ । 

अफगान अधिकारीहरुले यी आक्रमणमा तालिबानीको संलग्नता रहेको दाबी गरिरहेका छन् । तर अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइआएको छ ।

“तालिबानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थाहरुमाथि योजनाबद्ध रुपमा जनतामा नैराश्यता उत्पन्न गर्ने कोशिस गरिरहेको छ,” राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार जाभिद फैजलले बताउनुभयो । “तर यी हत्याले मानिसलाई अझ बढी एकताबद्ध गराइरहेको छ ।”

अफगानिस्तान अनुसन्धान तथा मूल्याँकन इकाईका उप निर्देशक निशंक मोतवानीको भनाईमा तालिबानले औपचारिक रुपमा राजनीतिक हत्याको जिम्मेवारी लिने गरेको छैन । मोतवानीले तालिबानीहरु आफ्नो बलियो उपस्थिति दर्शाउन कुनै कसर बाँकी राख्दैनन् ।

तालिबानले सन् २०२० मा देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको अफगानिस्तानका गुप्तचर निकाय प्रमुख अहमद जिया सिराजले बताए ।

गत वर्षको पहिलो नौ महिनामा दुई हजार १७७ जनाको हत्या भएको र तीन हजार ८२२ जना घाइते भएका थिए । अफगान सर्वसाधारणले राम्रो सुरक्षाको आशा गरिरहेका छन् तर वार्ता बेगर तत्काल सुधार हुने अपेक्षा गर्न सकिन्न । 

“काबुलमा कुनै सुरक्षा नै छैन । हामीले हाम्रा प्रियजन कतिञ्जेल गुमाउँदै जानुपर्ने हो रु” काबुल निवासी जमसिद मोहम्मदले बताएका छन् ।  (रासस)

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  २ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।