Logo

किसानलाई तरुल खन्न चटारो



माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ । गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रुपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरु उत्साहित भएका हुन् । माघे सङ्क्रान्ति आउन एक हप्ता बाँकी भए पनि अन्यत्र निकासीका लागि अहिलेदेखिनै खन्न थालिएको किसानले बताएका छन् ।

जिल्लाको कर्मैया, जिरायत, बरहथवा,हजरिया, राजघाट र शङ्करपुरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरुलखेती गरिन्छ । तरुल खेतीबाट यहाँका किसानले वर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् । यो वर्ष आफूले १७ कठ्ठामा लगाएको तरुल रु दुई लाख १५ हजारमा बिक्री गरिसकेको बागमती नगरपालिका-१०, शङ्करपुरका किसान मोहन लुम्रे मगरले बताए । किसानको खेतमै व्यापारी पुगेर तरुल किन्ने गरेका कारण किसानले आफैले मजदूर लगाउनुपर्ने समस्या समाधान भएको किसानको भनाइ छ । 

यो वर्ष प्रतिकठ्ठा रु १५ देखि २० हजारसम्ममा तरुल बिक्री भइरहेको बागमती नगरपालिका-५ राजघाट टेकानीका किसान शिव पुलामीले बताए । पुलामीले आफ्नो ६ कठ्ठाखेतमा लगाएको तरुल रु ९० हजारमा व्यापारीलाई बिक्री गरेको बताएका छन् । व्यापारीले नै खनेर लैजाँदा किसानको ज्याला पनि बच्ने गरेको उनको  भनाइ छ । 

जिल्लाका किसानले फलाएको तरुल बढी मात्रामा काठमाडौँ लाने गरिएको व्यापारीले बताएका छन् । यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत ठूला शहरबाट अत्यधिक माग आइरहेको बरहथवा नगरपालिका-५ का व्यापारी रामनाथ साहले बताएका छन् । जिल्लाका किसानले पताले र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । यहाँको तरुल काठमाडौँ, पोखरा, वीरगञ्ज, इटहरीलगायत प्रमुख बजारसम्म पुग्ने गरेको व्यापारीको भनाइ छ । 

जिल्लामा करिब २५० हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिए । उनका अनुसार प्रतिहेक्टर १५ टनसम्म तरुल फल्ने गर्दछ । 

प्रकाशित मिति : पुष २३, २०७७ बिहीबार  १ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।