Logo

सुवास रेग्मी र प्रमोद खरेलबीचको तनाब : लक्ष्मण शेषको अगुवाईमा सुवास रेग्मी विरुद्ध उजुरी, ५७ कलाकारको हस्ताक्षर



गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रा.लि.का सञ्चालक सुवास रेग्मीबीचको बिवादले उग्ररुप लिदै गर्दा यो बिवाद महानगरीय प्रहरी परिसर टेकु पुगेको छ । रेग्मीका विरुद्ध ५७ जना श्रष्टा तथा कलाकारहरु एक भएर कारवाहीको अपिलपत्र दिएका हुन् ।

संगीतकार संघ नेपालका पूर्व अध्यक्ष लक्ष्मण शेषले पहिलो नम्बरमा हस्तार गरेको उक्त अपिलपत्रमा गायक राजेशपायल राई, गायक शिव परियार, गायक तथा संगीतकार सत्यराज र स्वरुपराज आचार्य, गायिका ईन्दिरा जोशी, संगीतकार राजन ईशान, गायक तथा संगीतकार उदेश श्रेष्ठ, गायक तथा संगीतकार धीरज राई, संगीतकार अर्जुन पोखरेल, गायक कमल खत्री, गायक तुलसी पराजुली, गायक तथा संगीतकार प्रमोद खरेल, संगीतकार चेतन सापकोटा, संगीतकार कालीप्रसाद बासकोटा, गीतकार डा.घनश्याम खतिवडा, अभिनेता रविन्द्र खड्का, संगीतकार वसन्त सापकोटा, गायक दीप श्रेष्ठ, गायक उदय सोताङ, गायक आनन्द कार्की, गायिका अञ्जु पन्त, गीतकार डिपी खनाल, गायक तथा संगीतकार शंकर थापा स्माइल, गायक रामकृष्ण ढकाल, गायक निशान भट्टराई, गायक भिमसेन लामा, गीतकार महेश आचार्य, गीतकार वसन्त वित्यासी थापा, संगीतकर्मी भरत बोमजन, संगीतकार सचिन सिंह, संगीतकर्मी शंकर दुलाल, संगीतकार हरी लम्साल, संगीतकर्मी अष्ट लामा, गायक राज सिग्देल, संगीतकार सुनिल मास्के, गायक गौरव दर्पण, गायक सिडी विजय अधिकारी, गायक श्रीकृष्ण बम मल्ल, गायक दीपक बज्राचार्य, गायक सन्तोष लामा, संगीतकर्मी शिव मुखिया, संगीतकार तथा गायक जेम्स प्रधान, संगीतकार पारस मुकारुङ, संगीतकार ताराप्रकाश लिम्बु, संगीतकर्मी दीपक सापकोटा, संगीतकर्मी सुनिल बिसी, गायक ईन्द्र आरपी, गायक मिथुन सिवा, गायिका सृष्टि हिङ्माङ, गायक शान्तिम कोइराला, संगीतकर्मी रोशन सिंह, गायिका अस्मिता अधिकारी, संगीतकर्मी सम्राट चौलागाईं, गायिका एलिना चौहान तथा गायिका रचना रिमालले हस्ताक्षर गरेका छन् । 

चर्चित संगीतकार समेत रहेका लक्ष्मण शेष श्रष्टा र कलाकारहरुको अधिकारका लागि अग्रपंक्तिमा रहेर लागि परेका श्रष्टा समेत हुन् । शेषको अग्रमोर्चामा गरिएको मेहनतले अहिले प्रतिलिपि अधिकार लगायतका कानूनले श्रष्टाहरुलाई बलियो बनाएको छ ।

पौष २३ गते बुधबारका दिन अपिलपत्र टेकुमा बुझाईएको हो । उक्त अपिलपत्रमा नेपाली संगीतको क्षेत्रमा प्रारम्भिक कालदेखि वर्तमानसम्म आईपुग्दा असाध्यै शान्त, अनुशासित र मर्यादित संस्कारबाट सुसज्जित रहेको छ । गीत संगीत क्षेत्र र श्रष्टाहरुलाई राज्य, समाज र आम नागरिकले एक छुट्टै स्थानमा राखेर माया, स्नेह र सद्भाव दिइ आएको पाइन्छ । श्रष्ट गायक कलाकारले समेत राज्यको कला, संस्कृति र साहित्यमा हरेक क्षण इटा थपिरहेको अवस्था छ ।’ भनिएको छ ।

‘पछिल्लो केही वर्ष यता जब गीत संगीतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा डिजिटल व्यवसायको शुरुवात भयो, यसको विकासक्रमसंगै हाल स्वयं श्रष्टा, प्रस्तोताहरुले आफ्ना सृजनाहरु आफैं प्रवद्र्धन गरी त्यसबाट आफैं लाभान्वित हुने योजना बनाइ हाल विकसित भरहेका विभिन्न डिजिटल प्लेटफर्महरुमार्फत आफैं स्थापित हुने प्रयास गरिरहेको अवस्था छ, अपीलमा भनिएको छ-‘यसै अनुरुप हाल श्रष्टा, प्रस्तोताहरुले आफ्ना विगतमा श्रृजना गरेका, आफैंद्वारा लगानी गरिएका तथा आफैंमा प्रतिलिपि अधिकार रहेका जति श्रृंजनाहरुलाई आफैंमा फिर्ता लिने अभियान चलाएका छन् ।’ अपिलपत्रको अर्को हरफमा भनिएको छ ।

साथै अपीलमा भनिएको छ यसै क्रममा गायक तथा संगीतकार प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रा.लि.का सञ्चालक सुवास रेग्मीसंग आफ्ना श्रृजनाहरु नियम अनुसार फिर्ता मागेका हुन् । उनको यो सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट उल्टै गाली गलौच र अपमानपूर्ण अभिव्यक्ति र अन्यायपूर्ण व्यवहार भएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त म्युजिक कम्पनिका सञ्चालक सुवास रेग्मीलाई तमाम आदरणीय प्रतिष्ठित श्रष्टा, प्रस्तोताहरुप्रति लक्षित गरी गरिएका गाली, गलौच तथा मानमर्दनका विरुद्ध कानूनी प्रकृयाद्वारा आवश्यक कारवाही गरिदिनु हुन र यस्ता प्रवृत्तिहरुलाई आगामी दिनमा पूर्ण रुपमा सचेत गराइ दिनु हुन समेत विनम्र अपील गर्दछौं ।’ भनिएको छ ।

कम्पनी सञ्चालक रेग्मी र गायक खरेलकाबीच झण्डै एक वर्ष अगाडिदेखि बिवाद हुँदै आएको छ । गायक खरेलको स्वरमा २०६६ चैतमा रेग्मीको कम्पनीले प्रकाशित गरेको प्रणय नामक एल्बमको विषयलाई लिएर उनीहरुबीच बिवाद भएको हो । 

प्रणय एल्बम पाँच वर्षको लागि मात्र सम्झौता गरेर रेग्मीलाई दिएको खरेलको दाबी रहेको छ भने सम्पूर्ण लगानी आफ्नो भएकोले खेरलको दाबी गलत भएको सुवास रेग्मीले बताउँदै आएका छन् । 

कम्पनीका सञ्चालक रेग्मीले गायक खरेलले आफ्नो लगानिको एल्बमको ट्रयाकहरु अनधिकृत रुपमा देश बिदेशमा प्रयोग गरेर आफूलाई करोडौंको हानि पुर्‍याएको भन्दै प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा एक करोड क्षतिपूर्ति भराई दिन माग गर्दै निबेदन दिएका छन् । 

रेग्मीलाई कारवाही र सचेत गराउँन अपिलपत्र पेश गर्ने कार्यको नेतृत्व गरेका संगीतकार शेष आफूले खरेल र रेग्मीबीचको सम्झौता पुरै अध्ययन गरेको र सम्झौता अध्ययन गर्दा खरेलको दाबी गलत नभएको बताउँछन् । कसैले आफ्नो जमिन यति वर्षलाई कमाई गर्न दिन्छ भने त्यति वर्षपछि त्यो जमिनको मालिक स्वत पहिलो हकदारको हुने उदाहरण दिदै शेषले प्रणय एल्बमको मालिक गायक खरेल नै भएको बताए ।

आफूहरु कलाकर्मी र श्रष्टाहरुले आफ्नो कमाई आफैं खान पाउँने अधिकारकोँ पक्षमा लडेर कानुन बनाउँन सफल भए पनि अहिले केही व्यक्तिहरुले आफ्नो अधिकार नै नबुझेको शेषको भनाई रहेको छ ।

यति धेरै कलाकर्मीहरुको हस्ताक्षर सहितको निबेदन दर्ता भएको सम्बन्धमा बुझ्न महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टसँग सम्पर्क गर्दा निवेदन दर्ता भएको पुष्टि गरे । उक्त निवेदनमा उल्लेख भएका र मागदावी गरिएका कुराहरुमा के के प्रमाण पुग्छ पुग्दैन सो विषयका प्रमाणहरुको खोजी गर्ने प्रकृयामा प्रहरी रहेको विष्टले बताए । ‘प्रहरीले आवश्यक कागजातहरुको खोजी गर्छ, अनुसन्धान अगाडि बढेको छ, चाँडै टुङ्गोमा पुग्छ’- विष्टले बताए । 

अबको प्रकृया के हुन्छ भन्ने बुझ्न सुवास रेग्मीसँग सम्पर्क गर्दा उनको फोन उठेन ।

प्रकाशित मिति : पुष २३, २०७७ बिहीबार  २ : ४५ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।