पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको नेपालको राजनीति इमानदारी र जनहितमा आधारित नभएको दाबी गरेका छन् ।
पूर्वराजा शाहले पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै पृथ्वीनारायण शाहको मार्गदर्शन नेपालको अस्तित्व रक्षा, एकता र समृद्धि लक्षित भएको बताउँदै देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका निर्वाह गरेको स्मरण समेत गरे ।
राजगद्दी त्यागेर आफूले उच्च साहस र इमानदारी दर्शाएको बताउँदै पूर्वराजा शाहलेअहिलेको अवस्थाप्रति असन्तुष्टि जनाए। अहिले देशले व्यहोरेको राजनीति क्षतिको समीक्षा गर्न विलम्ब भएको भन्दै उनले नेपालको राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो पार्नुपर्ने आवस्यकता समेत औंल्याए ।
परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै बाह्य शक्ति बढाउने र इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप नेपालमा भित्रिएको उनले उल्लेख गरे ।
पृथ्वी जयन्तीमा माल्यार्पणदेखि राष्ट्रिय झण्डा प्रदर्शनीसम्म
२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइयो । सोही क्रममा सिंहदरबारको पश्चिम मूूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण गरियो ।
राष्ट्रिय पोशाक तथा आआफ्ना लोक संस्कृति झल्कने भेषभूूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुुभावले र्याली गर्दै शालिकमा पुुगेर माल्यार्पण तथा पुुष्प गुुच्छा अर्पण गरेका थिए । उक्त क्रम दिनभर नै चल्यो । विसं १७७९ पुुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले बाइसौँ– चौबीसौँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गरेका हुन् ।
एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रही आएको छ । उनका ती विचारलाई नेपाली समाजले पृथ्वी नारायण शाहका दिव्य उपदेशका रुपमा बुुझ्दै आएका छन् । २१ वर्षको उमेरमा गद्दी आरोहण गरेका पृथ्वीनारायणको पूरै जीवन नेपालको एकीकरणमै वितेर ५२ वर्षको उमेरमा विसं १८३१ माघ २ गते निधन भएको थियो ।
उनी र हाम्रा वीर पूर्खाको योगदान कै कारण दक्षिण एशियामा नेपाल मात्रै उपनिवेश हुनबाट जोगिएको थियो । पृथ्वीनारायण शाहलाई नेपालको परिचय र पहिचानका रुपमा लिने गरिन्छ । पृथ्वी जयन्तीकै अवसरमा रत्नपार्कस्थित शान्तिबाटीकामा वृहद नेपालको झण्डा प्रस्तुत गरिएको थियो । समाजका विभिन्न क्षेत्रका महानुुभावको अगुवाइमा भएको उक्त कार्यक्रमपछि र्यालीले नगरका विभिन्न कार्यक्रमको परिक्रमा गरी भद्रकालीमा सभा गरेको थियो ।
उक्त सभामा बोल्ने वक्ताहरुले पृथ्वीनारायणको योगदानको कदर स्वरुप उनको तस्बीर अङ्कित मुुद्रा निकाल्न, पुुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदाको घोषणा गर्न तथा दिव्य उपदेशलाई विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरे।
पृथ्वी नारायण शाहको जीवनी झल्कने सङ्ग्राहलय स्थापना गर्न र जीवनीलाई लिएर राज्यकातर्फबाट वृत्तचित्र बनाउन पनि सो अवसरमा माग गरियो । सोही उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा त्यहाँ अवस्थित पृथ्वी नारायणको शालिकमा प्रधानसेनापति पूर्णचन्द्र थापासहित उच्च सैनिक अधिकृतले पुष्पहार र पुष्पगुच्छा अर्पण गरेका थिए।
प्रतिक्रिया