राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफ क्लबले विजयी सुरुवात गरेको छ ।
बिहीबार भएको पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक एक गोल थपिन् ।
एकतर्फी बनेको खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । त्यस्तै, खेलको २२ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो । मिडफिल्डर अन्जलीले कप्तान अनिताले उपलब्ध गराएको पासमा गोल गरेकी थिइन् ।
पहिलो हाफ दुई शुन्यले अघि रहेको एपीएफले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो । खेलको ६२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् । खेलको ६४ औं मिनेटमा चौंथो गोल कप्तान अनिताले गरेकी थिइन् ।खेलको ७३ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गोल गरेपछि एपीएफले ६-० को फराकिलो जित निकाल्यो ।
जितसंगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
प्रतिक्रिया