इलाम,पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पुर्याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् ।
नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएको छ । अब इलाममा २७ नयाँ योजना बन्ने भएका छन् । जिल्लाका छ स्थानीय तहमा सिँचाइ आयोजना निर्माण हुने यस परियोजनाका फिक्कल क्लष्टर संयोजक केशव लामाले जानकारी दिए । इलाम र सूर्योदय नगरपालिका, रोङ, चुलाचुली, माङसेबुङ र सन्दकपुर गाउँपालिकामा सिँचाइ आयोजना निर्माण भइरहेका छन् । इलाम नगरपालिकाले झुत्रेखोला सिँचाइ आयोजना र निफोक खोला सिँचाइ आयोजना निर्माण गर्दैछ । सूर्योदयले कन्याम फाजिगाउँ, साउने खोला र ढकालगाउँ सिँचाइ आयोजना निर्माणका क्रममा छन् ।
यस्तै, रोङ गाउँपालिकामा झटारे र जुरेखोला हुँदै लाप्चागाउँ सिँचाइ आयोजना बन्दै छन् । चुलाचुली गाउँपालिकामा चारहाजारे कुलो, फुङनाम, सन्दकपुर गाउँपालिकामा सानीमाई खरीबोटे र चैतेटारी सिँचाइ आयोजना बन्ने क्रममा छन् । माङ्सेबुङ गाउँपालिकामा पार्टीगाउँ र रतुवा कोप्चे र देउमाइ नगरपालिकामा झुत्रे मुलखर्क, लुम्धे इरिगेसन प्रोजेक्ट र झुत्रे सिम्ले कुलो आयोजना बन्दै छन् ।
ती आयोजना निर्माणमा स्थानीय तहले २०, उपभोक्ताले १० प्रतिशत र बाँकी रकम प्रदेश सरकार र सङ्घीय सरकारले व्यहोर्ने गरेका हुन् । साना सिँचाइ परियोजना कार्यान्वयनको लागि प्रत्येक स्थानीय तहमा कार्यालय स्थापना हुने क्रममा रहेको लामाले बताए। यस्तै, भर्खरै सम्झौता भएका सिँचाइ आयोजना पनि जिल्लाका तह पालिकामा छन् ।
देउमाई तथा सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा पाँच÷पाँच आयोजना बन्ने सम्झौता भएको छ । इलाम नगरपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकामा चार÷चार सिँचाइ आयोजना बनाउने सम्झौता भएको संयोजक लामाको भनाइ छ । यी परियोजनामध्ये देउमाई नगरपालिकामा रु एक करोड ६६ लाख ४० हजार, इलाम नगरपालिकाका एक करोड २४ लाख ८० हजार, माङ्सेबुङ गाउँपालिकामा एक करोड ६६ लाख ४० हजार लागत अनुमान गरिएको छ । यस्तै, रोङ गाउँपालिकामा एक करोड २४ लाख ८० हजार, सूर्योदय नगरपालिकाको दुई करोड ३५ लाख १९ हजारका योजना रहेका छन् ।
इलामसहित पाँचथर, तेह्रथुम, खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङ्गा, धनकुटामा आयोजना सञ्चालन हुने जनाइएको छ । यसअघि पनि खोटाङ, उदयपुर र ओखलढुङ्गा जिल्लामा पहिलो चरणको कार्यक्रम कार्यान्वयन भइसकेको छ । (रासस)
प्रतिक्रिया