Logo

म्याग्दीको घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु



म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलान्यास गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण शुरु भएको हो । 

रु तीन करोड ४८ लाख ९४ हजार ७० लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बिएम जेभी पोखरालेरु दुई करोड ८१ लाख ७८ हजार ६४६ मा ठेक्का लिएको छ । विसं २०७६ माघ १७ गते ठेक्का सम्झौता भएको पुल २०७८ साउन २४ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करिब एक वर्षपछि पुल निर्माण शुरु भएको हो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए । 

“सम्झौता लगत्तै पुल निर्माण गर्ने ठाउँमा लगेका मेसिन दुई महिनासम्म खोला किनारमै राखेर फिर्ता गर्नुपर्यो”,उनले भने, “प्राधिकरणले गत भदौमा नयाँ डिजाइन स्वीकृत गरेर कार्यादेश दिएपछि अहिले काम शुरु गरेका छौँ ।” पुलको पाउद्वारतर्फको पिलर निर्माण शुरु गरेको निर्माण कम्पनीले पोखरेबगर तर्फको पिलरको जग खन्ने तयारी गरेको छ । 

पच्चीस मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौँको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डिपिआर बनाएको थियो । सोही डिपिआरको आधारमा ठेक्का लगाइएकाले पुल निर्माण प्रभावित भएको अन्नपूर्ण–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए । 

घारखोलामा पुल नहुँदा २०० घरधुरीको बसोबास भएको चार वर्षअघि सडक पुगेको पाउद्वार गाउँ बर्खामा यातायात सम्पर्क विच्छेद हुने गरेको छ । “घारखोलामा पुल बन्यो भने बाह्रै महिना गाडी चल्छ”, वडाध्यक्ष तिलिजाले भने, “सडक भए पनि पुल नहुँदा पैदलयात्रा गर्न र घोडा खच्चरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ ।”

भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डिपिआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनःडिजाइन गरेर काम अघि बढाएको एकाइका प्रमुख नारायण ढकालले बताए ।रासस 

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार  ९ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।