शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो, अनलाईनमा फारम यसरी भर्नुहोस्
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, असार ३, २०७६
  • काठमाडौँ

विज्ञापनको पर्खाइमा रहेका लाखौ नेपाली युवाहरुका लागि यो सूचना सेयर गरिदिनुहोला । लामो समयको रस्साकस्सीपछि शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) को लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सोमबार प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट योग्यता र शर्तको अधिनमा रही अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुनको लागि अनलाईन दरखास्त आव्हान गरेको हो ।

गत वैशाखकै पहिलो हप्तामा विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न सकेको थिएन । विज्ञापन खुलाउने विषयमै असार १ गते दिनभरी नै आयोगमा छलफल चलेको थियो । तर पर्याप्त गृहकार्य नभएको भन्दै आयोगले सोमबार मात्रै विज्ञापन आव्हान गरेको हो ।

आयोगले २०७६ असार २ गतेदेखि २०७६ असार २२ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।

अहिलेसम्म आयोगको परीक्षा दिएर करिव ७ लाख व्यक्तिसित शिक्षण लाइसेन्स भएको बताइएको छ । यीमध्ये एकैजनाबाट तीन तहको लाइसेन्स लिनेहरुको संख्या पनि उल्लेखनीय छ । कोही ४० वर्ष नाघेका र कतिचाहिँ अर्को पेशामा गइसकेकाले ७ लाख जना नै शिक्षक हुन तयार जनशक्ति भने अहिले नभएको आयोगको ठम्याई छ ।

कसरी भर्ने फारम ?

परीक्षा दस्तुर बुझाउने प्रक्रियाः अनलाइन फाराम भरेर सबमिट पश्चात सिस्टमबाट जेनेरेट हुने भौचर अनुसारको रकम तोकिएको बैंकमा गई जम्मा गर्नुपर्नेछ । जम्मा गरेपश्चात पुनः अनलाइन एप्लिकेशनको बैंक भौचर भन्ने बटनमा गइ बैंक कारोवार संकेत नम्बर लगायत आवश्यक सम्पूर्ण विवरण शुद्धसँग भर्नुपर्नेछ । विवरण फरक परेमा आवेदन फाराम रद्ध हुन सक्नेछ ।

दरखास्त भर्ने विधिः यस आयोगको वेबसाइट www.tsc.gov.np मा रहेको Online application माध्यममार्फत फाराम भर्न सकिनेछ । दरखास्त भर्ने विधिबारे यस आयोगको वेबसाइटबाट जानकारी लिन सकिनेछ ।