भियतनामी प्रतिनिधिमण्डल नेपालमा, सभामुख महरासहित नेपाली उच्चपदस्तसँग भेटघाट
  • अनलाइनपाना संवाददाता
  • बुधबार, फाल्गुन २२, २०७५
  • काठमाडौँ

सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतसँग समाजवादी गणतन्त्र भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका सभापति एवं लेफ्टिनेन्ट जनरल भो ट्रोंग भियतको प्रतिनिधिमण्डलले आज छुट्टाछुट्टै भेटवार्ता गरेको छ ।

नेपाल भ्रमणमा रहेको भो ट्रोंग भिएत नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटघाट गरी आपसी हित र दुई देशबीचको संसदीय मामलाका सम्बन्धमा सहकार्यबारे कुराकानी भएको भियतनामी वाणिज्यदूतावासले विज्ञप्तिमार्फत जनाएको हो ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको सो भेटमा सभामुख महराले दुई देशको संसदीय मामला सम्बन्धमा सहकार्य गर्न सकिने बताए । संसद्का सबल पक्षहरुबाट एक अर्का देशले सिक्न सकिने र प्रतिनिधिमण्डल आदान–प्रदानलाई अगाडि बढाउन सकिने उनले उल्लेख गरे ।

सभाका अध्यक्ष तिमिल्सिनासँग भएको एक अर्को भेटमा अध्यक्ष तिमिल्सिनाले भियतनामको शासकीय पद्धति तथा संसद्को व्यवस्था र नेपालको सङ्घीय व्यवस्थाबाट एक अर्का देशले सिक्न सक्ने उल्लेख गरे ।

महाशक्तिसँगको युद्धबाट अघि बढेर भियतनामले अर्थतन्त्र, विकास र सुरक्षाको क्षेत्रमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको कुरासमेत अध्यक्ष तिमिल्सिनाले बताए । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठसँग भएको भेटमा भियतनामको राज्य व्यवस्थालगायत सुरक्षा मामलासम्बन्धी छलफल भएको थियो ।

त्यसैगरी गृहमन्त्री रामबहादुर थापाले भियतनामी प्रतिनिधिमण्डलसँग कुरा गर्दै दुई देशको सुरक्षा चासोमा अध्ययन–अनुसन्धान गर्न सकिने कुरासमेत उनले उल्लेख गरे । उनले नेपालमा भियतनामबाट लगानी वृद्धि हुने आशा व्यक्त गरे । मन्त्री थापालगायत त्यसअघि भएका सबै भेटमा नेपाल बुद्ध भूमि भएकाले धार्मिक पर्यटन प्रवद्र्धनको माध्यमबाट नेपालको अर्थतन्त्र मजबुत तुल्याउन सकिने बताए ।