अमेरिकासँगको वार्ता बन्द गर्ने उत्तर कोरियाको तयारी
  • अनलाइनपाना संवाददाता
  • शनिबार, चैत्र २, २०७५
  • काठमाडौँ

उत्तर कोरिया अमेरिकासँगको वार्ता बन्द गर्ने मनस्थितिमा पुगेको छ । पुनः आफ्नो परमाणु कार्यक्रम शुरु गर्ने मनसायमा उक्त मुलुक देखिएको हो । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उत्तर कोरियाका विदेश उपमन्त्री चो सुन–हुइले विदेशी अधिकारीहरुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनाममा भएको सम्मेलनको सुनौलो अवसर गुमाएको बताएका हुन् ।

चो ले गत फेब्रुअरीमा अमेरिकाले दादागिरी देखाउन खोजेको आरोप लगाए । ट्रम्प र किम पहिलोपटक गत वर्ष सिंगापुरमा भेटेका थिए । उत्तर कोरियाले यसअघि नै आफ्नो परमाणु स्थल नष्ट गरेको प्रमाण पेश गरिसकेको छ । तर, उत्तर कोरियाको सबै परमाणु स्थल नष्ट गर्न उसमाथिको सबै प्रतिबन्ध हटाउन अस्वीकार गरेसँगै भियतनामको वार्ता विफल भएको थियो ।

रुसी सञ्चारमाध्यम तासका अनुसार चोले अमेरिकाले आफ्नो माग पालना गर्ने आशा बाँकी नरहेको र यस किसिमको वार्तामा सहभागी हुन इच्छुक नरहेको बताएका हुन् ।