गायक राजु परियार टप फाइभमा आफ्ना यी गीतलाई अटाउछन्…
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, जेष्ठ २, २०७६
  • काठमाडौँ

लोकदोहोरी गायन क्षेत्रमा कुनैबेला एकछत्र राज गरेका गायक हुन् – राजु परियार । उनको भनाईअनुसार उनले करिब १० हजार बढि गीत गाइसकेका छन् । २०५६ सालदेखि करिब १० बर्ष लोकदोहोरी गीतमा एकछत्र राज गरेका राजुको आजभोलि भने चर्चा त्यतिधेरै हुने गरेको छैन ।

उनै गायक परियारलाई हामीले उनका ५ वटा उत्कृष्ट गीत छान्न लगायौँ ।

उनले पहिलोपटक स्टुडियोमा गएर रेकर्ड गरेको गीत किसिमकोटमा चरी नाचेको भन्ने हो । उनले पाँचभित्र यो गीत नअटाएपनि सुरुमै सम्झिए र यसलाई पाँच उत्कृष्टभन्दा अझ विशेष ठाने । उनी भन्छन्–सागर बोहोराको शब्द र शान्ता न्यौपाने दिदिको लगानीमा बनेको यो गीत २०५६ सालमा रेकर्ड भएको हो । पहिलोपटक स्टुडियोमा गाउन जाँदा मलाई धेरै नै गाह्रो भयो ।

नारायण रायमाझी लगायतका अग्रज दाईहरु स्टुडियो अगाडि बस्नुहुन्थ्यो । दाईहरु देखेर पसिनै पसिना आउथ्यो, मुटु कामिरहेको हुन्थ्यो । मैले यो गीत ५ दिन लगाएर गाएको हो । ५ दिनसम्म टेक लिदै,छोड्दै गरेँ । गीत रेकर्ड गर्नेक्रममा र रेकर्ड गरिसकेपछि पनि धेरै डर लाग्यो । तर जव बजारमा आयो,यो गीत धेरै लोकप्रीय भयो । चल्छ भनेर गीत गाएकै होइन । ठट्टै ठट्टामा गाएको हो यो गीत । यो गीत लोकप्रीय भएपछि मैले सांगितिक क्षेत्रमा जम्प हानेँ ।

राजु परियारका पाँच उत्कृष्ट गीत उनै भनाईअनसार ।

१. सुनपानीले छर्क मायालु

यो गीतको छुट्टै कथा छ । पोखरामा दुर्गा रायमाझी दाईको फेवा रेकर्डिङ स्टुडियोमा गाउन पुगेको थिएँ । त्यहाँ गीत गाउनेक्रममा सुनपानी भन्ने शब्द पाएँ । मलाई सुनपानी भन्ने शब्दले छोयो । यो शब्दले हाम्रो समाजमा सांस्कृतिक हिसावले पनि महत्व बोकेको छ । त्यसपछि मैले स्टुडियोमा हुँदा नै सुनपानीले छर्क मायालु भन्ने एउटा कागजमा कोरेँ । त्यसपछि घरमा आएर गीत लेखेँ । यो शब्दलाई मैले जातीय भेदभावसँग जोडेर हेरेँ । वास्तवमा यो सुनपानी भन्ने शव्द मैले चोरेपनि अरु भने आफैले लेखेको हुँ ।

धौलागिरी क्यासेट सेन्टरबाट बजारमा आएको यो गीत निकै नै लोकप्रीय बन्यो । लोकदोहोरीमा नै उथलपुथल ल्याइदियो । गीतले अर्कै मोड लियो । यति धेरै लोकप्रीयता होला भनेर मैले सोचेको थिइँन । यो गीतको भिडियोमा म आफैले अभिनय गरेको छु । रमिता महर्जन दिदीले पनि यसमा अभिनय गर्नुभएको छ । विष्णु माझी र मैले गाएको यो गीतले नेपालभित्र रहेको जातीय भेदभावविरुद्ध केहि आवाज बोलेको छ भन्ने महसुस गरेको छु ।

२. भैँसी पालेर

स्याङजाको अर्जुन गैरे दाईले लेख्नुभएको यो गीत धेरै लोकप्रीय भयो । उहाँ शिक्षक पनि हुनुहुन्छ । यो गीतमा कमल गाउँले दाई र पल्पसा डंगोल दिदीको अभिनय पनि धेरै राम्रो छ । कमल दाईलाई यो गीतले धेरै माथी उठायो । यो गीतलाई यति माथी पु¥याउन दुर्गा रायमाझी दाईको ठूलो हात छ । उहाँले रेकर्डिङदेखि बजार नपुग्दासम्म धेरै सहयोग गर्नुभएको छ ।

यो गीतको कारण मैले मुग्लिनमा गएर खाना खानै पाइँन । यो गीतको शब्द गर्नु ग-यौ सुन्तली साहुनी बनेर,दुनिँयालाई ढाटेर बासी भातलाई साजी भनेर भन्ने छ । मुग्लिनमा एकजना सुन्तली नामकी साहुनी रैछन् । गीत उसैको लागि बनाएजस्तो भयो ।

उनका ग्राहक यहि गितको प्रभावले घट्न थालेपछि उनले होटलव्यवसाय नै छोड्नुपरेछ । बासी भात बेचेको सन्देश गएपछि धेरै ठाउँका होटलको व्यवसायमा नै असर परेछ । अर्कोतर्फ गर्नुग¥यौ बलराम भैँसी पालेर दुनियाँलाई ढाँटेर खाट्टी दुधमा पानी हालेर भन्नेको पनि अर्कै कहानी छ । मुग्लिन हो कि त्यतै कता तिरका बलराम नाम भएकै किसानले भैँसीको दुध बेच्नै छोडेछन् । यसबारे त कतिपय मिडियाले समाचार नै बनाएका थिए । यस्तो असर परेको सुन्दा अचम्म लाग्छ । भैँसी पालेर बोलको यो गीत निकै अविस्मरणीय गीत लाग्छ मलाई ।

३.मिर्मिरेको घाम

लक्ष्मी न्यौपाने दिदी र मैले गाएको मिर्मिरेको घाम,लर्के जोवन तिम्रै हो रामाराम बोलको गीत पनि मलाई धेरै मन पर्छ । यो गीतले लोक रस छोएको छ । टिप्छु फूल डर छैन काँडाको,तिम्रै हुँ म नसम्झ टाढाको मिर्मिरेको घाम… शब्द सुन्नुस् त कति मन छुने छ । राजकुमार बगर दाईको शब्द र बिन खाँतीको लयमा रहेको यो गीत वास्तवमै लोक दोहोरी गितमध्येको उत्कृष्ट गीतको सुचीमा पर्छ । ठट्टैठट्टामा गाएको यो गीत राम्रो बन्यो ।

४.रुमाल धोको छु

आवाज कलाकार संघ भन्ने हाम्रो संस्था छ । त्यसको अध्यक्षमा बि.बि. अनुरागी हुनुहुन्छ । त्यसको म उपाध्यक्ष छु । यहि संस्थामार्फत उब्जिएको गीत हो रुमाल धोको छु । झलक संगितम र संजिबनी बि.क.को शब्दमा रहेको यो गीतले समाज बोलेको छ । पहिलेको भन्दा जातीय भेदभाव कम त होला,तर निर्मुल भइसकेको छैन । जवसम्म नेपाली समाजमा जातीय भेदभाव रहिरहन्छ तवसम्म यो गीत ताजा रहन्छ । रुमाल धोको छु,यो खोलीको पानी कोई नखानु मैले छोको छु भन्ने यो गीतको शब्दले नै मनमा तरंग पैदा गरिदिन्छ । सबैको मन छुने यो गीतले सामाजिक न्याय र समानताको पक्षमा सहयोग पु¥याएको हुनुपर्छ ।

नेपालमा सहि कानुन नबनेसम्म र सहि कार्यान्वयन नभएसम्म जनवादी गायक जीवन शर्मा दाई लगायतका गीतहरु सदाबहार र कालजयी भएजस्तै रुमाल धोको छु र सुनपानीले छर्क मायालु भन्ने गीतहरुपनि समाजको हितमा हुनेछन् । यो गीत रेकर्ड गर्दा रमाइलो मलाई महसुस भएन । किनभने म यो गीत गाइरहँदा भावुक बनेको थिएँ । आँखा खोल ए ठूला ठाला,छुवाछुतको आगोले देश खाला एउटा ज्वाला प्रष्फुटन भाथ्यो । मैले विगत सम्झेँ । आफूले पनि भोग्नुपरेका भेदभावको पीडा मेरो मनमा छचल्कियो ।

मैले गाउँदा गाउँदै गला अवरुद्ध पनि भएको थियो । बि.बि. दाई जस्तो मान्छेले संगित गरेको यो गीतले केहि न केहि गर्छ भन्ने आशा थियो । नभन्दै लोकप्रीय मात्रै भएन,कालजयी बन्यो जस्तो लाग्छ । कतिपय ठाउँमा त यो गीत बजाउनै दिएनन् भन्ने पनि सुनियो । जव यो गीत चल्दै गयो पछि त्यहि घरको चुलोमा बज्न थालिगयो नि । म आफैले पनि रुमाल धोको छु भन्ने गीतबाट फड्को मारेँ ।

५. धोका दिनेलाई के भनौँ र खै

सुर्य कुमार क्षेत्रीको शब्द र कस्तुप पन्तको लयमा रहेको धोका दिनेलाई के भनौँ र खोई बोलको यो गीत पनि धेरै चर्चित गीत हो । सुर्यकुमार र कस्तुप हामी चाहिँ गीत लेखौँ भनेर लेखिन्नथ्यो । चिया खाँदाखाँदै पनि गीत बन्थ्यो । सुर्यकुमारजी वितेर जानुभयो ।

उहाँ मेरो एकदमै प्रीय मीत्र । सुर्यकुमारजी अहिले स्वर्गमा हुनुहुन्छ । म कामना गर्छु उहाँको मृत आत्माले हामीलाई आर्शिवाद दिइरहनुहुन्छ होला सायद । सुर्यकुमारजीले हामीलाई धोका दिइहाल्नुभयो । अल्पायुमै त्यतिराम्रो साथी,त्यति राम्रो सर्जक बितेर जानुभयो । तर,उहाँको यो सिर्जना सधैँ स्रोताको मनमनमा रहनेछ ।