रक्सीको बोतलमा गान्धीको फोटो !
  • अनलाइनपाना संवाददाता
  • सोमवार, असार १६, २०७६
  • काठमाडौँ

इजरायलको कम्पनी माका ब्रेवरीले रक्सीको बोतलमा भारतका राष्ट्रपिता महात्मा गान्धीको फोटो लगाएको छ । सादा जीवन उच्च विचारको आदर्श बोकेर हिँडेका महात्मा गान्धीको नाम कतै नराम्रो गतिविधिमा जोडिएको भन्दै विरोध भएको छ ।

यो घटनापछि यसको विरुद्धमा केरलाको महात्मा गान्धी नेशनल फाउन्डेशनका अध्यक्ष एबी जे जोसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुनासो गरेका छन् ।

जोसले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पनि पत्र लेखेका छन् । उनले रक्सी कम्पनी र उसका मालिकलाई कार्वाहीका लागि माग गरेका छन् । जोसले गान्धीको मजाक उडाइएको आरोप लगाएका छन् । यो फोटो अमित शिमोनीले डिजाइन गरेका थिए ।

जोसका अनुसार महात्मा गान्धीले मदिराको उपभोग र प्रचारको विरुद्धमा कडा कदम उठाएका थिए । उनी आजीवन मदिराको विरोधमा थिए । महात्मा गान्धीले एक पटक भनेका थिए कि सत्तामा गएपछि उनले एकैपटक सबै मदिरा निर्माण कम्पनी र त्यसको विक्री बन्द गरिदिनेछन् ।

तर गान्धी मरेको बर्षौंपछि अहिले आएर उनको नाम मदिरामा जोडिनु ठुलो अन्याय भएको मानिएको छ ।