पोखरामा मेघ गर्जन सहित भिषण असिना पानी, नगदेवालीमा ठूलो क्षति किसान चिन्तित
  • प्रकाश अधिकारी
  • सोमवार, बैशाख १६, २०७६
  • पोखरा

पोखरामा सोमबार दिउँसो भिषण वर्षा भएको छ । दिउँसो करिव २ बजेदेखि चर्को गड्याङगुडुङ सहित परेको भिषण असिनापानीका कारण पोखराका सडक जलमग्न बन्यो ।

१ बजे सम्म सफा रहेको पोखराको मौसम अकस्मात बदली भएको हो । मेघ गर्जनसहित पानी परेपछि गन्तव्यमा हिँडेका यात्रुहरुको बीच बाटोमा बिचल्लीमा परेको पत्रकार एकता रेग्मीले जानकरी दिइन् ।

हावाहरीसहित परेको भीषण असिना पानीले पोखरासहित आसपासको विक्रीका लागि टिप्ने बेला भएका खाद्य तथा नगदेवालीमा ठूलो क्षति पुर्याएको छ । इन्द्रेनी ओर्गनिक फार्म डिहिको पाटनमा मात्रै १ लाख ५० हजार भन्दा पढी क्षतिभएको प्रबन्धक गोमा ढकालले जानकारी दिइन् ।

बालकल्याण स‌ंस्थाको आश्रयमा रहेका ४० जना बालबालिकाको लागि लगाएको काक्रा, फर्सी , इस्कुस, बोडी, मकै, रायो ,घिरौला ,तितेकरेला लागाएतका बेमौसमी तरकारी असिना पानीले नष्ट गर्दा तीन लाख बराबरको क्षति भएको संस्थाका प्रमुख विजयकुमार प्रधानले जानकारी दिए ।

असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायो, लसुन, प्याज, धनिया, मुला लगायतका बेमौसमी तरकारी खेतीमा क्षति पुर्‍याएको कृषकहरुले बताएका छन् ।खानयोग्य तरकारी बाली असिना पानीले नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् ।

विभिन्न स्थानका सडकका नालीबाट आएको पानी सिधै सडकमा बग्न थालेपछि केही समय यातायात आवनगमन नै प्रभावित भएको छ । सडकमा भलपानी र भारी वर्षा हुँदा अध्यारो भएर गाडीहरु हेडलाईट बालेर गाडी कुदाएका थिए । भलपानीले पार्किङमा राखेका मोटरसाइकल स्कुटर समेत ढलाएको छ । यो समाचार तयारपार्दा सम्म अविरल पानी परिरहेको छ ।

तीन दिन मेघ गर्जन सहित वर्षाको संभावना

मौसम पूर्वनुमान महाशाखाले सोमबार बिहान एक सुचना जारी गर्दै आगामी ३ दिनको मौसमको जानकारी दिएको थियो ।

मौसम शाखाका अनुसार सोमबार,मंगलबार र बुधबार देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली हुन सक्ने सम्भावना देखाएको थियो भने देशका पहाडि भेगका केहि स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको जानकारी दिएको छ ।