सरकारले नेपाली सेना, प्रहरी र सशस्त्रको राशन भत्ता बढाउने
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ १, २०७६
  • काठमाडौँ

सुरक्षा निकायमा कार्यरत कर्मचारीलाई चार वर्षपछि राशन भत्ता बढ्ने भएको छ । सरकारले कर्मचारीको तलब बढाउने हल्ला चलिरहेका बेला सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुको राशन भत्ता बढाउन चार वर्षपछि गृहमन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव गरेपछि उनीहरुको भत्ता बढ्ने भएको हो ।

गृहमन्त्रालका सहसचिवको नेतृत्वमा बसेको राशन पुनरावलोकन समितिले तीन वटै सुरक्षा निकायका कर्मचारीको राशन भत्ता २० प्रतिशत बढाउने प्रस्ताव गरेको हो । २०७२ सालमा सरकारले सुरक्षा निकायको राशन भत्ता ५ हजार २ सय ५० निर्धारण गरेपछि बढेको छैन ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीमा राशन बापतको रकम बैंक मार्फत भुक्तानी हुने गरेको छ भने ब्यारेक भएका स्थानमा मात्रै ठेकेदारले ढुवानी गर्नेछन् । तर, नेपाली सेनामा भने अहिले पनि ठेकेदारबाटै ढुवानी हुने गरेको छ ।

सरकारले निर्धारण गरेको राशन स्केल भने नेपाल प्रहरीलाई १४, सशस्त्र प्रहरीलाई १८ र नेपाली सेनालाई १९ थरीको राशन स्केल रहेको छ । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नगदै बुझ्ने भएपछि त्यसको अर्थ छैन ।