एनसेलले ल्यायो ग्राहकका लागि यस्तो अफर
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ १, २०७६
  • काठमाडौँ

विश्वका विभिन्न देशबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवा पाउने भएका छन् ।

एनसेल प्रालिले हिजोबाट लागु हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको हो । जस अन्तर्गत नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले १ सय १० रुपैंयामा सजिलै ट्राभलर्स सिमको प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधिअनुसार विभिन्न भोल्युमका स्टार्टर प्याकहरुबाट पनि फाइदा लिन सक्नेछन् ।

स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिमसहित ३० रुपैंयाको मेन ब्यालेन्स र ३ दिनको लागि मान्य हुने गरी ३ सय एमबी डेटा समेत प्राप्त गर्ने छन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटवर्कभित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ ।

‘ट्राभलर्स सिम’ अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकता अनुसार ४ सय ९० रुपैंयादेखि १ हजार ९ सय ६० रुपैंयासम्मका विभिन्न समयसीमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ्ग गरिएको कम्बो प्याकहरु खरिद गर्न पनि सक्नेछन् । ग्राहकको सुविधालाई मध्यनजर गरी विभिन्न चाडपर्वका साथै अन्य अवसरमा एनसेलले यस प्रकारका योजनाहरु ल्याइरहने गरेको छ ।