प्रदेश सरकारले अब ६ दिन मात्रै बिदा दिन पाउने
  • अनलाइनपाना संवाददाता
  • शनिबार, जेष्ठ ४, २०७६
  • काठमाडौँ

प्रदेश सरकारले आफूखुसी सार्वजनिक विदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सूचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि विभिन्न प्रदेशस्तरको चाडवाडमा प्रदेश सरकारले बिदा घोषणा गर्दा सरकारको कार्यालय बिदा भएको थिएन। बिदा नहुँदा अन्योल उत्पन्न भएपछि गृह मन्त्रालयले प्रदेश स्तरमा ६ दिन बिदा दिँदा सरकारको कार्यालयसमेत बिदा दिने निर्णय भएको हो।

राजपत्रको सूचनामा आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा गृह मन्त्रालयको निर्णयअनुसार हुने उल्लेख छ। प्रदेश सरकारले बढीमा ६ दिन बिदा दिने निर्णय गरेतापनि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सरकारका कार्यालयको हकमा सो बिदा लागु हुनेछैन। तीन जिल्लाको बिदाको व्यवस्था गृह मन्त्रालयको निर्णयबमोजिम हुने राजपत्रमा उल्लेख छ। नेपाल समाचार पत्रमा खबर छ।