२५६३ औँ बुद्ध जयन्ती आज मनाइँदै
  • अनलाइनपाना संवाददाता
  • शनिबार, जेष्ठ ४, २०७६
  • काठमाडौँ

आज वैशाख शुक्ल पूर्णिमा २५६३ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैंछ। नेपालको लुम्बिनीमा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे। छ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो। बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन्।

आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन्।

यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका ताराका रुपमा सम्मान गरिन्छ।

वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ। काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्‍याली निकालिने छ।

बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष समारोह आयोजना गरिएको छ।