१४ स्थानमा महाधिवेशन प्रतिनिधिहरूलाई कांग्रेसले प्रशिक्षण दिने
  • अनलाइनपाना संवाददाता
  • शनिबार, जेष्ठ ४, २०७६
  • काठमाडौँ

कांग्रेसले ७ प्रदेशका अलग–अलग १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरूका लागि दुईदिने प्रशिक्षण दिने भएको छ।

जेठपछि आगामी भदौसम्म पार्टीका आधारभूत सिद्धान्त र कांग्रेसका विचारसहितका विषयमा प्रशिक्षण दिन लागेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।

‘जेठपछि भदौभित्र सकिने गरी हामी प्रशिक्षण दिँदै छौँ,’ उनले भने, ‘क्रियाशील सदस्यलाई पार्टीका विषयमा आधारभूत जानकारी, अरूलाई किन कांग्रेस नै हुनुपर्ने, कांग्रेसमा किन आउने र प्रजातन्त्रवादीहरूले आफ्नो व्यवहार कस्तो बनाउनुपर्छ भनेर तलैबाट स्कुलिङ गर्न प्रशिक्षण गर्न लागेका हौँ।’

क्रियाशील सदस्यहरूका लागि एकदिने आधारभूत प्रशिक्षण कार्यक्रम गरिने उनले बताए। महाधिवेशन प्रतिनिधिहरूका लागि प्रतिष्ठानले बनाएको पाठ्यक्रमअनुसारको तालिम दिने तयारी भएको छ।