हतियारसहित हेटौंडामा भारतीय प्रहरीको प्रबेश
छानबिनै नगरी नेपाल प्रहरीले फिर्ता पठाइदियो
  • अनलाइनपाना संवाददाता
  • शनिबार, जेष्ठ ११, २०७६
  • काठमाडौँ

शनिबार  पोशाक र हातहतियारसहित हेटौंडा आइपुगेको ६ भारतीय प्रहरीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ । हातहतियारसहित मकवानपुरको हेटौंडा आईपुगेका भारतीय प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएर भारतको रक्सौल फिर्ता पठाएको हो । सबेरै हेटौंडामा आईपुगेका भारतीय प्रहरीबारे बेखबर मकवानपुर प्रहरीलाई स्थानीयबासीले खबर गरेका थिए ।

हेटौंडा आईपुग्नका लागि वीरगञ्ज नाकादेखि एक दर्जन प्रहरी चौकी पार गरेपछी मात्र आईपुगिन्छ । तर, हेटौंडाको पशुपति मन्दिरमा दर्शन गर्ने क्रममा मात्र मकवानपुर प्रहरीले भारतीय प्रहरीलाई फेला पारेर नियन्त्रणमा लिएको थियो । लगतै प्रहरी भेनमा राखेर पर्सा नाकाको नेपाल प्रहरीलाई जिम्मा लगाएर भारत फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायज उपरीक्षक यज्ञप्रसाद भटराईले बताए ।

हेटौंडा ४ मा रहेको भुवनेश्वर मन्दिर (पशुपति) मन्दिरमा दर्शन गरी स्थानीय एक गेष्ट हाउससमा पुगेका उनीहरुको साथमा हात हतियार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिना अनुमति हतियारसहित हेटौंडा आएका उनीहरुले गेष्ट हाउसमा कोठाको लागि भनेपछि त्रसिद केही स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरु मन्दिर दर्शनपछि कोठा बुकिङ गर्न गेष्ट हाउस पुगेको बताइएको छ ।

स्थानीयको सूचना पाएपछि मकवानपुरका प्रहरीले नियन्त्रणमा लिएको थियो । पशुपति दर्शन गर्ने उद्देश्यले आएको भन्ने लागेर गहिरो अनुसन्धान नगरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गुगल म्यापबाट पशुपति मन्दिर सर्च गर्दा बिहारबाट ५० किलोमिटरको दुरी देखाएपछि उनीहरु हेटौंडा आएको र दशर्नपछि फर्कने सोचमा आएको भारतीय प्रहरीले बताएको जिप्रका मकवानपुरको भनाइ छ । उनीहरुलाई सामान्य सोधपुछपछि फिर्ता पठार्ईएको हो ।

तर, उनले हतियारको बारेमा भने खुलासा गरेनन् । एकजना स्थानी तहका जनप्रतिनिधिका अनुसार हतियारसहित विना अनुमति नेपाल प्रवेश गरेका उनीहरुविरुद्ध कानुनी कारबाही गर्नुपर्ने थियो तर सामान्य सोधपुछ गरेर मात्र छाडियो ।