धुर्मुसको पीडा : गरिबका रगत पसिनामाथि डोजर चलाइयो, डोजर चलाउने रेणु दाहालको मान्छे
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ १५, २०७६
  • काठमाडौँ

हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरेका छन् । चितवन भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जस्तापाताको बार बुधबार बिहान स्थानीयले डोजर चलाएर भत्काइदिएका थिए ।

नेकपाका स्थानीय तहका नेता प्रकाश कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा आएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत विक्षत तुल्याउँदै कर्मचारीलाई धम्की दिएको धुर्मुसले जानकारी दिए ।

पहिले अबिर जात्रा गरे, अहिले डोजर लगाए

धुर्मुसका अनुसार आफ्नै आँगनअगाडि क्रिकेट रंगशाला बन्ने भएपछि स्थानीय उत्साहित थिए । र, धुर्मुस दम्पतीलाई घडा राखेर अबिरजात्रा गर्दै स्वागत गरेका थिए । तर, तिनै स्थानीय बुधबार एकाबिहानै डोजरसहित पर्खाल र तारजाली भत्काउन आएका देख्दा आफू मर्माहत भएको उनले बताए । “निर्माणाधीन क्रिकेट रंगशाला यस क्षेत्रको विकासका लागि कोषेढुंगा बन्दै थियो । रामपुरको मात्र नभइ समग्र चितवनको विकाको भरपर्दो आधार बन्दै थियो । यहाँका स्थानीयबासीले पनि त्यसको लाभ पाउँथे । तर, कुत्सित मनशाय बोकेकाहरूको उक्साहटमा लागे,” उनको दुःखेसो छ ।

को हुन् प्रकाश कँडेल ?

स्थानीयका अनुसार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । र उनी विद्यार्थी राजनीति गर्थे । माओवादी विभाजन हुँदा वैद्य समूहमा लागेका उनी पछि रामबहादुर थापा वादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए । र, अहिले उनी नेकपामै आवद्ध छन् । उनी नै घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी तीव्र पारेको छ ।

‘रेणु दाहाललाई मतपत्र च्यातेर मेयर बनाउने मै हुँ । मैले भनेको नमान्ने !’ भन्दै उनले धाक–धम्कीसमेत दिएको स्थानीय बताउँछन् ।

धुर्मुसका अनुसार विश्वविद्यालयसँग साँध जोडिएका जग्गाधनीहरूले बाटो फराकिलो पार्नुपर्ने माग राखेका थिए । निर्माणाधीन क्रिकेट रंगशालाको पश्चिमतर्फबाट अहिले पनि सडक गएको छ । रंगशाला बन्ने भएपछि स्थानीयले ७ मिटरको उक्त मोटरबाटो बढाएर २१ मिटर चौडा बनाउनुपर्ने माग राख्दै आएका थिए ।

धुर्मुसका अनुसार उनले स्थानीय अगुवासँग यस विषयमा पटकपटक कुरा गरेका छन् । चार दिनअघिमात्रै पनि जग्गाकै विषयमा लामो कुराकानी भएको थियो ।

धुर्मुसले उक्तबाटोमा मालवाहक गाडी पनि नगुड्ने र रामपुर जोड्ने बाटो भएकाले १० मिटर फराकिलो भए पुग्ने तर्क गरेका थिए । त्यसका लागि आवश्यक जग्गा छाड्न तयार भएका थिए । र, चारदिनको समयसीमा दिएका थिए ।

तर, स्थानीय आफ्नोतर्फ एक इन्च जग्गा छाड्न राजी भएका थिएनन् । रंगशालाका लागि छुट्टयाएको जग्गा नै बाटोका लागि दिनुपर्ने उनीहरूको माग थियो । “उनीहरू चारदिनसम्म मौन थिए । आज बिहान डोजरसहित आएर धमाधम भत्काउन थाले । म मुकदर्शक बनेर हेरिरहेँ,” धुर्मुस दुःख पोख्छन् ।

धुर्मुसका अनुसार एउटा झुण्ड शुरूदेखि नै रंगशालाको विपक्षमा छ । उक्त झुण्डले कहिले ठेकेदार परिचालन गरेर निर्माण सामग्री आफूसँग लिन दबाब दिन्छ भने कहिले डोजर, जेसीबीलगायत निर्माणयन्त्र आफूले भनेकै व्यक्तिको लिनुपर्छ नत्र रंगशाला बन्नै दिन्न भन्दै धम्क्याउँछ ।

“हामीले उनीहरूसँग निर्माण सामग्री लिन नखोजेका पनि होइनौँ । तर, भनेको बेलामा उपलब्ध नगराउने । अत्तो थापिरहने गर्न थाले । उनीहरूको योजना रंगशाला बन्नै नदिने देखियो,” धुर्मुसको भनाइ छ । धुर्मुसका अनुसार स्थानीय केहीले फाउन्डेशनका कर्मचारीलाई पटकपटक धम्क्याउँदै आएका छन् । बुधबार बिहान पनि उनीहरूले कर्मचारीलाई तथानाम भन्दै धम्क्याएको भिडियो स्थानीयलेनै खिचेका थिए ।

तर, भिडियो डिलिट नगरे जे पनि हुन सक्ने भन्दै धम्क्याएपछि रंगशाला बन्नुपर्ने पक्षमा रहेका स्थानीयबासीले निरिह भएर मोबाइलबाट श्रव्यदृष्य हटाएको धुर्मुस बताउँछन् ।

घरबेटी नै परिचालन

रोचक कुरा त रंगशालाको बार–वाल भत्काउन फाउन्डेशनले कार्यालय राखेको घरका धनी सुरेन्द्र विश्वकर्मा नै प्रयोग भएका छन् । “सहयोग पुग्छ भनेर हामीले उहाँको घरमै कार्यालय राखेका थियौँ । उहाँको घर एक तलाको थियो । अर्को तला थपेर साइट अफिस बनाएका थियौँ । तर, बाटो बन्दा आफ्नो जग्गा पनि जान्छ भनेर उफ्रँदै रंगशाला भत्काउन आए,” धुर्मुस आश्चर्य व्यक्त गर्छन् ।

रंगशाला होइन, ज्यानकै सुरक्षा भएन

डीपीआर बनेपछि मात्रै कम्पाउण्ड घेर्ने पक्षमा धुर्मुस थिए । तर, खुला ठाउँ हुनाले निर्माण सामग्री हराउने भय बढ्यो । दुर्व्यसनीहरू दिनदहाडै निर्माणधीन ठाउँमा आउन थालेपछि बाध्य भएर जस्तापाताले छेक्नुपरेको धुर्मुस बताउँछन् । “अनेक धाकधम्की सहँदै चारवटा एकीकृत बस्ती बनाएका थियौँ । बुधबारको घटनाले निकै विक्षिप्त बनाएको छ । धुर्मुस सुन्तली फाउन्डेशनले अगुवाइ लिए पनि त्यो चितवनकै गौरवको कुरा थियो । तर, स्थानीयको चाहना रंगशाला बन्न दिने देखिएन,” धुर्मुस बताउँछन् ।

डोजर नै लिएर भत्काउन आइसकेपछि बिनासुरक्षा रंगशाला बनाउन नसकिने धुर्मुसको ठहर छ ।“मेरै ज्यान तलमाथि परे त केही थिएन । तर, फाउन्डेशनका कर्मचारीको ज्यान तलमाथि भए के हुन्छ रु यस्तो अवस्थामा मैले बोल्ड डिसिजन लिनुपर्ने हुन्छ,” धुर्मुसले पीडा पोखे ।

सरकार कहाँ छ ?

नेपाली जनताको इच्छा, क्रिकेट खेलाडी, खेलप्रेमीको चाहनाअनुसार सरोकारवालाको आग्रहअनुसार नै आफू चितवन आएको र विश्वविद्यालयले उपलब्ध गराएको जग्गामा गौरवको आयोजना बनाउन लागेको धुर्मुस बताउँछन् । भरतपुर महानगरपालिकाले विशेष आग्रह गरेर नै धुर्मुसलाई बोलाएको थियो । तर, बनाउन थालेको पहिलो दिनबाटै स्थानीयले पाखुरा सुर्किएपछि रंगशालाको परियोजना सक्न कठिन हुने धुर्मुसको तर्क छ ।

“डीपीआर नै बनेको छैन । आजबाटै स्थानीयको धाकधम्की सहनुपरेपछि काम गर्ने जाँगर कहाँबाट आउँछ रु,” उनको प्रश्न छ । उनले रंगशाला बन्ने क्रममा स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति गराएको थियो । महानगरपालिकाले पनि आश्वस्त पारेको थियो । तर, दिनदहाडै हुलहुज्जत गर्दा, कर्मचारीमाथि हातपातको प्रयास गर्दा पनि प्रशासनबाट यथेष्ट सहयोग नपाएको उनले बताए ।

गरिबका रगतपसिनामाथि डोजर नचलोस् !

झण्डै तीन अर्ब लागत अनुमान गरेको क्रिकेट रंगशाला बनाउन आवश्यक रकमको जुगाड भइसकेको छैन । कहिले मलेसिया, कहिले कतार गएर ‘शीत उभाउनु’ परेको धुर्मुस बताउँछन् । जन्मदिन मनाउन छुट्टयाएको रकम र स्कुले बालबालिकाले टिफिन खर्च जोगाएर रंगशालालाई सहयोग गरिरहेका छन् ।

“खाडीमा काम गरिरहेका मजदुरहरूले गास काटेर पठाएको पैसामाथि डोजर चल्दा मेरो मन थामिएको छैन, मैले गम्भीर निर्णय लिनुपर्ने भएको छ,” धुर्मुस भन्छन् ।