नेपालका यी १० ताल तपाई पुग्नु भयो ? जहाँ समुन्द्रको मज्जा लिन सकिन्छ ! (फोटो फिचर)
  • पवन मुडभरी
  • शुक्रबार, जेष्ठ १७, २०७६
  • काठमाडौँ

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । विश्वमै घुम्नै पर्ने दस वटा देशको सुचिमा पनि नेपाल परेको छ । नेपाल कला, सस्ंकृति, जात जाति, भाषा, धर्म लगायतका पक्षमा विविधताले भरिएको मुलुक हो । नेपालमा मनोरम पहाडी स्थल, नदि, झरना, गुफाहरु त छन् नै विश्वमै फरक र अलौकिक विशेषता बोकेका सुन्दर तालहरु पनि रहेका छन् । जसले स्वदेशी तथा बिदेशी पर्यटकको मनलाई लोभ्याउँछ ।

रारा ताल

नेपालकैे सबैभन्दा ठूलो ताल हो रारा ताल । सूर्य अस्ताउँदा र उदाउँदा देखिने रारा तालको सुन्दरताले जोकोहीलाई आनन्दित तुल्याउँछ । समुन्द्री सतह भन्दा २९९० मिटर (९८१० फिट) को उचाइमा रहेको यो ताल जुम्ला र मुगु जिल्लास्थित रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रामसार क्षेत्र भित्र पर्दछ । ५.१ किलोमिटरको लम्बाई तथा २.७ किलोमिटरको चौडाइमा फैलिएको यस तालको पानीको सतह १.८ वर्ग किलोमिटर र १६७ मिटरको घहिराइ रहेको छ । रारा ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो ।

तिलिचो ताल

यो ताल नेपालको सबैभन्दा उच्च स्थानमा रहेको छ । कुनै पनि जलचर प्राणी तालमा नपाईनु यो तालको प्रमुख विशेषता हो । यो तालको वरपर देखिने पहाडको दृष्यले झनै सुन्दरता थपेको छ । समुन्द्री सतह भन्दा ४९१९ मिटर (१६,१३८ फिट) को उचाईमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित अन्नपुर्ण संरक्षित क्षेत्रमा पर्दछ । ४.८ वर्ग किलोमिटरको समतल क्षेत्रफलमा फैलिएको यस ताल ८५ मिटर (२८७९ फि) गहिरो छ भने ४ किलोमिटर लम्बाइ तथा १.२ किलोमिटर चौडाइ रहेको छ ।

से- फोक्सुन्डो ताल

यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । १४५ मिटर (४७६ फिट) यसको गहिराई रहेको छ । डोल्पा जिल्लामा अवस्थित फोक्सुन्डो ताल समुन्द्री सतहबाट ३६१५ मिटर उचाइमा छ । करिब ४।९४ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस तालको लम्बाई ५.१५ किलोमिटर तथा चौडाई ८०० मिटर रहेको छ । यस ताललाई सन् २००७ मा रामसार क्षेत्र घोषणा गरिएको हो ।

गोसाइँकुण्ड ताल

समुन्द्री सतह भन्दा ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड ताल रसुवा जिल्लामा अवस्थित छ । हिमालय पर्वतमा जाँदा शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगेर गोसाइँकुण्ड उत्पत्ति भएको भन्ने किंवदन्ती छ । यहाँको पानीले नुहाउँदा शरीरमा लुतो, खटिरा नआउने विश्वास रही आएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यस तालको क्षेत्रफल १३.८ हेक्टर रहेको छ । यस क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ ।

पाँच पोखरी

लाङटाङ राष्ट्रिय निुकुञ्जभित्र पाँच तालहरु छन् । एकै ठाउँमा प्राकृतिक रुपमा बनेको पाँच वटा तालहरुको दृष्यले पर्यटकहरुलाई झनै मनोमोहक बनाउछ । विश्वकै उच्च अल्टिच्युडमा रहेको यो ताल समुन्द्र सतहबाट ४१०० मिटर माथि छ । यो तालमा पनि जनै पुर्णिमाको अवसरमा मेला लाग्ने हुँदा सो समयमा यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गर्छ । यस स्थलबाट जुगल, लाङटाङ, रोलवालिङ लगायतका हिमालहरुको दृष्य राम्रोसँग देख्न सकिन्छ ।

छो- रोल्पा ताल

१५४ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल गौरीशैकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ । ५८० मिटरको अल्टिच्युडमा अवस्थित छो रोपा ताल दोलखा जिल्लामा पर्दछ । २७० मिटर अधिक्तम गहिरो रहेको यस तालको लम्बाइ ३.४५ किलोमिटर छ ।

फेवा ताल

फेवा ताल सबै भन्दा धेरैले अवलोकन गर्ने ताल हो । पोखरामा अवस्थित यो ताल समुन्द्री सतहभन्दा ७४२ मिटर (२४३४ फिट) को उचाईमा रहेको छ । तालको बीचमा तालबाराही मन्दिरले यस तालको सुन्दरता झनै बढाएको छ । ४.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा अवस्थित यस तालको लम्बाई १७ किलोमिटर छ भने अधिकतम गहिराई २४ मिटर रहेको छ ।

घोडाघोडी ताल

घोडाघोडी ताल सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । आन्तरिक तथा वाह्य पर्यटकीय क्षेत्र विकासका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको यो क्षेत्र राज्यले प्रदान गरेका सुविधाहरुको न्यूनतम उपभोगको अवसरबाट बञ्चित जस्तै देखिएको छ । घोडाघाडी ताललाई धार्मिक तालका रुपमा पनि हेरिन्छ । थारु समुदायले यस ताललाई आफ्नो कुल देवताको रुपमा पूजा गदै आएका छन् ।

उनीहरुले यस ताललाई घोडाघोडी भगवानको जोडीको रुपमा सत्ययुगमा रहेकाले पूजा गर्ने गर्दछन् । हरेक माघे सङ्क्रान्तिका दिन यस तालमा ठूलो मेला समेत लाग्ने गर्दछ । यस क्षेत्रमा पर्यटकलाइ आर्क्षित गर्ने जोखर ताल, मानसरोवर ताल, झिलमिला ताल, घोडाघोडी ताल जस्ता विभिन्न ताल तलौया, नदीनाला, झरना तथा हिमाल लगायत वन्यसम्पदाहरुको अवलोकन गर्न सकिन्छ ।

जाखोर ताल

धनगढी उपमहानगरपालिका–७ मा अवस्थित जाखोर ताल कैलालीको प्रमुख पर्यटकीय गन्तव्य हो । पछिल्लो समय जाखोर तालको भौतिक संरचनाको स्वरुपमा पनि परिवर्तन आएको छ । जाखोर तालमा पुग्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । पर्यटकीय क्षेत्र जाखोर तालको पर्यटन विकासका लागि पछिल्ला केही समययता पहलहरु भइरहेका छन् ।

जाखोर ताल रहेको देवरिया वनस्पति उद्यानभित्र संरचनाहरु पनि थपिदै जान थालेका छन् । यसै क्रममा जाखोर ताललाई यहाँको प्रमुख पर्यटन गन्तव्य बनाउनका लागि गुरुयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ । गुरुयोजना तथा डीपीआर सार्वजनिक पनि गरिएको छ । तयार गरिएको विस्तृत अध्ययन प्रतिवेदन अनुसार जाखोर ताल परिसरमा मन्दिर नजिक धर्मशाला, चिल्ड्रेन पार्क, पार्किङ स्थल, संस्कृति देखाउन सङ्ग्रहालय प्रस्ताव गरिएको छ ।

बुलबुले ताल

प्राकृतिक सौन्र्दयले भरिपूर्ण बुलबुले ताल २४ बिगाहा क्षेत्रफलमा फैलिएको छ । कोहलपुरदेखि उत्तरी दिशामा करिब ५४ किलोमिटरको दूरीमा पर्ने यो बुलबुल ताल सुर्खेत बिरेन्द्रनगरको पहिचान हो । बुलबुले ताल धेरै ठूलो भने छैन् । तर पहाडको टुप्पोमा फराकिलो ताल हुनु आफैमा रमाइलो छ ।

बुलबुल गर्दै जमिनबाट लगातार निस्कने पानीलाई संकलन गरी कृतिम रुपमा बनाइएकोले यो ताललाई बुलबुले ताल भनिएको पाईन्छ । ताल वरिपरी बनाइएको आर्कषक उद्यानले पर्यटकको मन लोभ्याउँछ । एकान्तमा बगैचामा आनन्दसँग बस्न चाहनेहरुका लागि यो बँगैचा उपयुक्त थलो हो ।