सडक बालबालिका भन्छन् – ‘हामीलाई १०४ ले मात्र होइन, कुकुरले समेत लखेट्छ !’
सडक बालबालिकालाई आफ्नै जीन्दगी चलचित्रको कथाजस्तो लाग्छ, भन्छन् – भोलि आउदा लुगा लिएर आउनु ल ?
  • अनलाइनपाना संवाददाता
  • सोमवार, जेष्ठ २०, २०७६
  • काठमाडौँ

सडक बालबालिकालाई पूर्नस्थापित गर्ने सरकारको लक्ष्य प्रभावकारी नहुँदा सडकबाट बालबालिका पूर्नस्थापित हुन सकेका छैनन् । गत बैशाख २७ गतेदेखि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले सडकमा बालबालिकालाई बस्न नदिने नीति अवलम्वन गरेको हो । तर,अझैपनि काठमाण्डौ उपत्यकाका ठमेल,न्युरोड,पशुपति लगायतका क्षेत्रमा सडक बालबालिका लागुऔषध सेवन गरिरहेको अवस्थामा भेटिन्छन् ।

केन्द्रीय बाल कल्याण समितिका अनुसार बालबालिकाको क्षेत्रमा काम गर्न भनेर १ हजार बढि संघसंस्था दर्ता भएका छन् भने ६ सय बालगृह सञ्चालनमा छन् । तीमध्ये केहि संस्थाहरुमात्रै सक्रिय छन् । समिती अन्तर्गतको बालबालिका खोजतलास समन्वय केन्द्रले सडकमा भएका बालबालिका नियन्त्रणमा लिन्छ र सहकार्यमा रहेका अन्य निकायमा पठाउछ । तर,ती संघसंस्थामाथी सरकारको निगरानी हुन नसक्दा सडकबाट सुधारकेन्द्र पुगेका बालबालिकाले कतिपय संघसंस्थामा शारीरिक यातना भोग्नुपरेको र गालीगलौज सहनुपरेको गुनासो गरेका छन् ।

सडकमाथीको सपना

आफ्नो घर भक्तपुरको सल्लाघारी बताउने सागर घर्तीमगर सानै उमेरदेखि घर छोडेर सडकमा दिनरात काट्दै आएका छन् । सागर जन्मिएको केहि बर्षपछि उसको बुबा बिते । आमाले पनि दोस्रो श्रीमान भेटेपछि सागर आफ्नै आमाको आँखाको तारो बने । रक्सीले लट्ठिएर सधैँ गाली गरिरहने आमा र अर्कै बुबाको व्यवहारबाट आजित भएको कलिलो सागरको मानसिकताले अन्ततः स्वतन्त्र ठाउँ सडकको जीवन रोज्यो ।

स्कुलकै ड्रेसमा घर छोडेर सानो उमेरमा न्युरोड क्षेत्रमा आइपुगेका सागर अहिले १६ बर्ष नाघिसके । उनी भन्छन् ‘अरुको अगाडी बन्न त ठूलै मान्छे बन्न मन थियो नि दाई,के गर्नु भाग्यले यस्तोमा ल्याईदियो,कार्टुन,कागजहरु खोजेर पेट भर्नुपर्छ । पहिले त किलोको १५ रुपैया दिन्थ्यो,आजभोलि १० रुपैयामात्रै दिन्छ ।’ कथाजस्तो लाग्ने तर वास्तविक जीवनमा अनेक घट्ना बेहोरिसकेपछि बालबालिका सडकमा आउने गरेको पाइएको छ ।

सुधार केन्द्रबाट फेरि सडकमा

सुधार केन्द्रमा महिनौ बसेर अभिभावकको रोहबरमा छोडिएका बालबालिका पुनः सडकमै फर्किने गरेको पाइएको छ । सुधार केन्द्रमा ७ महिना बसेर परिवारको रोहबरमा केहि दिनअघिमात्र छुटेर सडकमै पुगेका काठमाण्डौ टेकुका १४ बर्षीय रोहन श्रेष्ठले भने,‘मेरो बुबाममी पार्टी प्यालेस चलाउछ,दुईजना भाईहरु हामीसँगै छ,ग्याङफाइटमा मान्छेलाई खुकुरीले हानेर दाई जेलमा छ ।’ पटक पटक सुधारकेन्द्रमा पुगेर पनि फर्केर आएका रोहनजस्तै अन्य सडक बालबालिका काठमाण्डौको न्युरोड,ठमेल लगायतका क्षेत्रमा भेटिन्छन् । सुधार केन्द्रमा आफूहरुमाथी कुटपिट हुने गरेको उनीहरुको दाबी छ ।

चलचित्रजस्तो लाग्ने आफ्नै जिन्दगी

कुनै एक दम्पति । जो काठमाण्डौमा डेरा लिएर बस्दै आए । छोरी करिब ५ बर्षको हुँदा आमाको मृत्यु भयो । बाबुले २ बर्षसम्म जसोतसो पालनपोषण गरे । त्यसबेला ७ बर्षीय बालिका सबिता भर्खर भर्खर विद्यालय जाना थालेकी थिइन् । जहिले पनि मदिरा सेवन गर्ने बाबु पनि अचानक गायब भए । बाबु समेत बेपत्ता भएपछि अभिभावक विहिन् भएकी सबिता घरबेटीको पालनपोषणमा करिब १ महिना त सोहि घरमा बसिन् । त्यसपछि आफूमाथी हेपाहा प्रवृत्ति बढ्न थालेपछि र बाबु पनि फर्किएर नआएपछि उनी आफु जन्मे हुर्केको डेरा छोडेर हिड्न बाध्य भइन् ।

यो चलचित्रको कथाजस्तो लाग्ने यथार्थ घट्नाक्रम सम्झिदै आमाको झल्याकझुलुक सम्झना रहेको बताउने सविताले आँखाभरी आँशु पार्दै केहि बोलिनन् । सायद् गला अवरुद्ध भएर होला उनले लामो सास तानेर खोक्ने प्रयास गरिन् । केहिबेरपछि भनिन् ‘बाबाले पनि मलाई सबि भन्नुहुन्थ्यो,बाबालाई भेट्छु कि भनेर रुम छोडेर यता आ,फर्किदा रुम नै चिनिनँ ।’ अहिले उनलाई न आफ्नो थर नै थाहा छ न बुबाआमाको नाम र ठेगाना नै न आफ्नो उमेर । हेर्दा करिब १७ बर्ष उमेरकी देखिने सबिता प्रायजसो पशुपति क्षेत्रमा बस्ने गरेको बताउछिन् । सडक बालबालिकाको उद्धार गर्ने संघसंस्थाले लैजान्छन् भन्ने डरले उनले आफ्नो बाबुआमा रहेको बताउने गरेकी छन् ।

भोक मेट्न डेन्ड्राइडको सहारा

प्लाष्टिक तथा दुधको खाली प्याकेटमा डेन्ड्राइड हालेर सुघेर भोक मेट्ने गर्छन् अधिकांश सडक बालबालिका । बाराको सिमाराबाट आजभन्दा १५ बर्षअघि काठमाण्डौ आएका अमिर (नाम परिवर्तन) ले पनि सडकमै जीवन गुजार्न थालेको १० बर्ष बढि भइसक्यो । उनले धेरै समय भोकभोकै बिताएका छन् भने डेन्ड्रोइड सुँघेर उनी भोक लुकाउछन् । उनी भन्छन् ‘हामीलाई दयामाया गर्ने कोही छैन,कहिलेकाँही कार्टुन बेचेर खाइन्छ नत्र भोकभोकै ।’

बुबाआमा बिहिन् उनीपनि आफन्तबारे बेखबर छन् । भन्छन् ‘पढेर इञ्जिनियर बन्ने रहर थियो दाई,बुझ्ने बेलादेखि सडकमै छु ,पढ्न पनि पाइएन । ’ अर्का दिपेश लम्साल सरकारले रोजगार दिए गर्न तयार रहेको बताउछन् । कतिपय सुध्रिन पनि चाहने रहेपनि भनेजस्तो वातावरण नभेटिएकाले वाध्य भएर सडकमै बस्नु परेको उनको बुझाई छ ।

रातभर सँगै सुतेको कुकुरले दिउसो लखेट्छ

प्रायजसो जाडो मौसममा सडकबालबालिकासँगै भुस्याहा कुकुरहरु पनि सँगै सुतेको देख्न सकिन्छ । सडकबालबालिकाले काहीँकतैबाट ल्याएको थोरै भएपनि सिरकमा उनीहरुमात्रै लुटुपुटु गर्दैनन् । उनीहरु निदाईसकेपछि तातो ठाँउ खोज्दै भुस्याहा कुकुरहरु पनि आइपुग्छन् । छर्लङग उज्यालो हुनुअघि नै कतिपय सडक बालबालिका बोरा बोकेर प्याष्टिकका बोत्तल तथा फालिएका कार्टुनहरु टिप्न निस्कन्छन् ।

उनीहरुका अनुसार त्यसबेला रातभर आफूसँगै सुतेको भुस्याहा कुकुरले समेत उनीहरुलाई लखेट्न खोज्छ । बालबालिका खोजतलास समन्वय केन्द्रलाई सडक बालबालिका १०४ भनेर चिन्छन् । सो केन्द्र अर्थात १०४ आयो भन्ने सुनेलगत्तै सडक बालबालिकाबिच भागाभाग मच्चिन्छ । कारणः उनीहरु सडकमै रमाउन चाहन्छन् ।

टोलपिच्छेका ग्रुप र ग्याङफाइट

काठमाण्डौ उपत्यकाका न्युरोड,ठमेल,पशुपतिक्षेत्र,लगनखेल र कलंकी क्षेत्रमा बढि सडकबालबालिका भेटिन्छन् । उनीहरुका अनुसार ठमेल क्षेत्रका सडक बालबालिका बढि आक्रामक हुन्छन् र लुटपाटमा संलग्न हुन्छन् । केहि चतुर र उमेर पुग्दै गएका सडक बालबालिका ठमेल क्षेत्रमा आउने पर्यटकसँग डलर झार्ने लोभमा त्यतातिर केन्द्रित हुने गरेका छन् । ठमेल र पशुपति क्षेत्रका सडकबालबालिका बिच धेरै नै दुस्मनी रहेको स्वयम् उनीहरु बताउछन् । उनीहरुका अनुसार पटक पटक ग्याङ फाइट हुने गर्छ ।

पशुपति क्षेत्रका सडक बालबालिका भन्छन्– भोलि लुगा लिएर आउनु ल ?

विश्व सम्पदा सुचीमा सुचिकृत पशुपति क्षेत्रमा दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य तीर्थयात्री पुग्ने गर्छन् । धार्मिक आस्थाको केन्द्र पशुपति क्षेत्र आसपासमा बसेर मागेर गुजारा चलाउने र पशुपति आर्यघाटमा शव अन्त्येष्टिका क्रममा फालिने पैसाको सिक्का र सुनका टुक्रा संकलन गर्न होडबाजी गर्ने सडक बालबालिका बाक्लै मात्रामा दिनहुँ भेटिन्छन् ।

१० बर्षभन्दा कम उमेरका बालबालिका पनि कठ्यांग्रिदो चिसोमा हात थाप्दै बसिरहेका हुन्छन् । अर्कातिर पशुपति आर्यघाटमा चुम्बकको सहायताले पैसाको सिक्का खोज्ने बालबालिका उत्तिकै छन् । अभिभावकविहिन बालबालिकादेखि आमा बुबासँगै माग्न बसेका बालबालिका पनि भेटिन्छन् पशुपति क्षेत्रतिर । आफ्नो नाम बिर्जु गिरी बताउने ९ बर्षीय बालक आफ्नो बुबा सानैमा बितेको बताउछन् ।

बुबा बितेपछि आमाले मागेर आफूलाई पनि पालिरहेको बताउने बिर्जुले पनि मागेर जम्मा भएको पैसा आमालाई दिने गरेका छन् । बिर्जुभन्दा कम उमेरका,अभिभावक गुमाएका र तोतेबोली बोल्ने बालबालिका पनि कठ्यांग्रिदो जाडोमा नाङ्गै खुट्टा पशुपति आसपास भेटिन्छन् र केहिबेर कुराकानी गरेर ५÷१० रुपैया दिएर हिड्न लागेकाहरुलाई भन्छन् –भोलि लुगा लिएर आउनु ल ? पशुपति क्षेत्रमात्रै नभई विभिन्न धार्मिकस्थल तथा व्यस्त बजारक्षेत्रमा कतिपय बा–आमाले आफ्नै कलिला बालबालिकालाई माग्न राख्ने गरेका छन् । धुलाम्मे सडकमा धुलोमैलोमा लुटपुटिएका बोली फुटिनसकेका कलिला नानीहरुले पनि हात थाप्ने गरेका छन् । यसले गर्दा कखरा सिक्ने उमेरमा उनीहरुलाई माग्नुपर्छ भन्ने मानसिकता स्वयम आफनै अभिभावकले सिकाइरहेका छन् ।

हार्ड ड्रक्सबाट सडक बालबालिका टाढा रहेको प्रहरीको दाबी

सडक बालबालिकाहरुले ब्राउन सुगर,खैरो हिरोइनजस्ता हार्ड ड्रक्स प्रयोग नगर्ने प्रहरी बताउछ । डेन्ड्राइड तथा जुत्ताको पोलिस लगायतको सहारामा उनीहरु नसा लिने गर्छन् । लागु औषध नियन्त्रण ब्युरो काठमाण्डौका इन्स्पेक्टर कृष्णगोपाल पनेरुका अनुसार ब्युरोले अहिलेसम्म हार्ड ड्रक्स प्रयोग गरेको अभियोगमा सडक बालबालिकालाई नियन्त्रणमा लिएको छैन ।

प्रहरी प्रभाग तथा वडा प्रहरी कार्यालयहरुले सडक बालबालिकाबारे हेर्ने गर्छ । यद्यपी लागु औषध नियन्त्रण ब्युरोले सडक बालबालिकाहरुलाई लागुऔषधबाट बचाउनेबारे जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । सडक बालबालिका ग्याङफाइट,चोरी डकैती,लुटपाट तथा पाकेट मार्ने काममा बढि संलग्न हुने गरेका छन् । प्रहरीका अनुसार कतिपय सडक बालबालिका यौन क्रियाकलापमा लाग्ने गरेका छन् । जसले गर्दा उनीहरुमध्ये कतिपयले कम उमेरमै बच्चा जन्माउने गरेका छन् ।

१०४ को गाडी देख्दा भागाभाग

समन्वय केन्द्रका कार्यक्रम अधिकृत अधिकारीका अनुसार सरकारले सडकमा बालबालिकालाई बस्न नदिने नीति लिएकाले नै उनीहरुलाई जर्वजस्ती उठाउनु परेको छ । सडक बालबालिकाबारे जानकारी दिने निशुल्क टेलिफोन नम्बर १०४ भएकाले उनीहरुले बालबालिका खोजतलास तथा समन्वय केन्द्रलाई १०४ भनेर चिन्छन् । जब १०४ को गाडी आयो भन्ने हल्ला फैलिन्छ, सडकबालबालिकाबिच भागदौड मच्चिन्छ ।

एक बालबालिका बराबर संस्थालाई मासिक ५ हजार

सडक बालबालिकाको उद्धार,संरक्षण तथा पूर्नस्थापना गर्ने जिम्मा सरकारले ११ वटा संघसंस्था तथा निकायलाई दिएको छ । जसअन्तर्गत बालबालिका खोजतलास समन्वय केन्द्रले सडकबाट बालबालिका उठाउछ । केन्द्रले ११ वटा संघसंस्था र निकायमध्ये सम्पर्क गृह तथा सामाजिकीकरण केन्द्रलाई जिम्मा लगाउछ । केन्द्रिय बालकल्याण समितीले सडक बालबालिका राखे बापत ती संघसंस्थालाई प्रति बालबालिका मासिक ५ हजार रुपैया दिन्छ ।

प्रति बालबालिका मासिक ५ हजार रुपैया पाउने संघसंस्थामा एपीसी,युसेप,सिपिसिएस,भ्वाईस अफ चिल्डे«न,युवा सामुदायीक सेवा केन्द्र,साथसाथ तथा रक्षा नेपाल छन् । तीमध्ये कतिपय संघसंस्थाकै कर्मचारी,जाँडरक्सी खाएर बस्ने,तास खेल्ने र आफुहरुलाई कुट्ने गरेको सुधारकेन्द्रबाट महिनौ बसेर फेरि सडकमै आइपुगेका सडक बालबालिकाहरुको आरोप छ । तर,ती संघसंस्था यो आरोपलाई अस्विकार गर्छन् । संघसंस्थाले लापरबाही गरेको भए आफूहरु कारबाही गर्न तयार रहेको सरकारी निकायको दाबी छ ।

काठमाडौं उपत्यकालाई सडक बालबालिकामुक्त बनाउने अभियान चलाएर सडकमा जीवन बिताइरहेका सबै बालबालिकाको उद्धार गर्ने लक्ष्य सरकारले लिएपनि यो चुनौतिपूर्ण छ । सरकारी लक्ष्य वैज्ञानिक भएपनि जर्वजस्ती बालबालिका उठाइनु र सुधारकेन्द्रमा पनि उनिहरुले सम्मानजनक वातावरण नपाउदा सडक बालबालिका झनै त्रसित बनेका छन् । उनीहरुलाई उपयुक्त मनोपरामर्शको अभावले फेरि सडकमै पु-याइरहेको छ ।