लोकसेवाको विज्ञापन बन्द हुने ! विद्यार्थी अन्योलमा
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, जेष्ठ २४, २०७६
  • काठमाडौँ

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी माग गर्दै निकालिएको विज्ञापन बन्द गराउन विभिन्न राजनीतिक दलहरुले माग गर्दै आइरहेका बेला सत्तारुढ दलकै नेता पनि यो विज्ञापनविरुद्धमा उभिएका छन् ।

लोकसेवा आयोगको विज्ञापन संविधान विपरित भएको बताउँदै सत्तारुढ दल नेकपाका सांसद जर्नादन शर्माले भर्ना प्रक्रिया बन्द गर्न माग गरेका हुन् । उनले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थालेको बताए ।

बैठकमा नेता शर्माले भने, ‘संविधानमाथि नै प्रहार भयो । यसो भन्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला तर, विषय चिख्ने र नदुख्ने होइन । संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो । यही हो संवैधानिक अराजकता । यसले राष्ट्र स्वतः संकटमा पर्छ ।’

प्रदेश २ को सरकारले लोकसेवाको विज्ञापन बन्द नगरे अदालत जाने चेतावनी दिँदै आएको छ । त्यस्तै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीलगायतका दलले पनि लोकसेवाको यो विज्ञापनको विरोध गर्दै आएका छन् ।

तर, लोकसेवा आयोगले संविधानअनुसार आएको विज्ञापन बन्द नहुने बताउँदै आएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि लोकसेवाको विज्ञापन बन्द नुहेन बताएका छन् । सत्तारुढ दलकै नेताले यस्तो प्रस्ताव गरेपछि लोकसेवा तयारी गरिरहेका विद्यार्थी अन्योलमा परेका छन् ।

लोकसेवाको विज्ञापनबारे छलफल गर्न बोलाइएको बैठकमा किन उपस्थित भएनन् मन्त्री पण्डित ?

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी माग गरेको विषयमा जानकारी लिन संसदीय समितिले बोलाएको बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बिहानको बैठकमा मन्त्री पण्डितलाई बोलाए पनि उनी अनुपस्थित भएका हुन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिसमा लोकसेवा आयोगले देशभरका स्थानीय निकायमा खुला कर्मचारी भर्नाको विज्ञापन गरेपछि समावेशी नभएकोलगायत प्रश्न उठेको छ । यसमा प्रदेश २ मा थप असन्तुष्टि रहेको छ । प्रदेश नं २ ले लोकसेवाले लिएको भर्ना अमान्य हुने बताइसकेको छ । सोही विषयमा मन्त्रालयको धारणा बुझ्न समितिले मन्त्रीलाई बोलाएर छलफलको प्रयास गरिरहेको छ ।

तर शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकमा मन्त्री पण्डित आफू नगएर सचिव यादव कोइरालालाई पठाएका छन् । यसअघि पनि यसै विषयमा जानकारी लिन समितिले बोलाउँदा मन्त्री पण्डित अनुपस्थित भएका थिए ।मन्त्रीले समितिको निम्तो अस्वीकार गरे पनि अहिले यसबारे समितिमा छलफल चलिरहेको छ ।

मुख्य न्यायाधीवक्ताले दिए राजीनामा

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँगको असमझदारी पश्चात् मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका छन् ।नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ को चुनाव र केन्द्रीय महाधिवेशनमा नेकपाको आधिकारीक उम्मेदवारलाई सहयोग नगरेको भन्दै मुख्यमन्त्री पौडेल र मुख्यन्यायाधीवक्ताबीच असमझदारी बढेको थियो ।

पार्टीको नेतृत्व तहले तत्काल मुख्यन्यायाधीवक्ताबाट राजीनामा नदिएको खण्डमा कारबाही गर्ने चेतावनी दिएसँगै न्यौपानेले बाध्य भएर राजीनामा दिएका हुन् । उनले बिहीबार प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकाललाई राजीनामा पत्र बुझाएका थिए ।

मुख्यमन्त्री उपचारको क्रममा रहेका कारण प्रमुख सचिव समक्ष राजनीनामा बुझाएको उनले बताए । वरिष्ठ अधिवक्ता न्यौपानेले मुख्यन्यायाधीवक्ताबाट राजीनामा दिएर आफूले मुख्यमन्त्रीलाई काम गर्ने बाटो खोलिदिएको प्रतिक्रिया दिए ।

कानूनी व्यवस्था अनुसार मुख्यन्यायाधीवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुपर्ने हुन्छ । रेडक्रसले प्रदेश र राष्ट्रिय अविधेशनमा आधिकारीक उम्मेदवार तोकेको थिएन ।

उनका अनुसार नेकपाका जिल्ला नेताहरुले आफूलाई जिम्मेवारी दिएको भन्दै मनोमानी गर्न थालेपछि आफूले रेडक्रस विपद् र द्वन्द्वमा काम गर्ने संस्था भएको कारण राजनीति गर्न नहुने तर्क गरेपछि विवाद थियो ।स्रोतका अनुसार उनलाई पार्टीले समेत कारबाहीको तयारी गरिरहेको छ । न्यौपानेले २०७५ साल फागुन २३ गते मुख्यन्यायाधीवक्ताको पदभार ग्रहण गरेका थिए ।

बर्दियामा पनि भीषण हावाहुरी

बिहीबार राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ ।

राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।

घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ । हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन् ।

हावाहुरीेले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पु-याएको छ । हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ । हाल जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

पूर्वराजावरपरकै मान्छले मेरो पार्टी फुटाइदिए : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले ठूला भ्रष्टाचारमा ठूला दलहरूले सहकार्य गर्ने गरेको आरोप लगाएका छन् ।पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले वाइडवडी जहाज खरिद प्रकरण, एनसेल करछली, सुन तस्करी काण्ड र बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गर्दा ठूला दलहरूबीच सहकार्य भएको आरोप लगाएका हुन् ।

उनीहरूको सहकार्यकै परिणम भएकाले सरकारले छनबिन गर्न चचाहेको उनको भनाइ छ । सामान्य छानबिन हुँदासमेत कांग्रेस र कम्युनिस्टका शीर्ष नेतहरूको नाम जोडिएपछि छानबिन नै ढिसमिस हुने गरेको उनले बताए । लोकतन्त्रको आवरणमा व्यवासायी, प्रशासक र राजनीतिक नेताको त्रिकोणत्मक गठबन्धन बनाएर देशमा ब्रह्मलुट मच्याइएको उनको टिप्पणी छ ।

‘ठूलाठूला भ्रष्टाचारमा कांग्रेस नेताको पनि संलग्नता रहेको आशंका गरिन्छ, यी शृंखला तत्कालका मात्रै होइनन्,’ उनले भने, ‘कांग्रेस र कम्युनिस्टको सहकार्यमा ठूलाठूला भ्रष्टाचार हुने गरेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले पूर्वराजाका वरिपरिकै मान्छेबाट सबैभन्दा पीडित रहेको दुखेसो गरे । ‘राजतन्त्रको एजेन्डा छोड्न मलाई धेरै सल्लाह आए । पूर्वराजाका वरिपरिका मान्छेले सबैभन्दा धेरै दुःख पनि दिए ।’ उनले राजसंस्थाको एजेन्डा बोक्नुपर्ने खास कारण रहेको बताए । पूर्वराजाका वरिपरिका मान्छेले नै आफ्नो पार्टी फुटाएको समेत उनले आरोप लगाए ।

‘मलाई सबैभन्दा पीडा दिने पूर्वराजावरपरकै मान्छे हुन्, मेरो पार्टीलाई फुटाइदिने पनि उनीहरू नै हुन्, तर, पनि राजसंस्थाको एजेन्डा लिनुका पछाडि खास कारणहरू छन्,’ उनले भने । राजसंस्था राजनीतिक आग्रहपूर्वाग्रहबाट माथि उठ्ने र अन्तिम अवस्थामा पनि राष्ट्रिय हितमा रहने भएकाले राजसंस्थाको वकालत गरेको उनको भनाइ छ । ’