मन्त्रालयको आदेश नमान्ने अधिकृत निलम्बित
  • अनलाइनपाना संवाददाता
  • आइतवार, जेष्ठ २६, २०७६
  • काठमाडौँ

रौतहटको गौर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीलाई मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको पत्राचार गरेको छ । मन्त्रालयको पत्रलाई पटक पटक अटेरी गरेको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले निलम्बन गरेको हो ।

मन्त्रालयले कार्कीलाई विभिन्न मितिमा सरुवा गरे पनि तोकिएको स्थानमा नगएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार कारबाही स्वरूप निलम्बन गरेको हो । उनलाई मान्त्रालयले दुई महिनाको लागि निलम्बन गरेको छ ।

जेठ १ गते मन्त्रालयले अन्तिम पटक दार्चुलाको शैल्यशिखर नगरपालिकामा खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नगएपछि मन्त्रालयले तीन दिन भित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रूपमा पत्राचार तथा मौखिक निर्देशन समेत दिएको थियो । सो आदेशलाई लत्याई प्रमुख प्रशासकीय अधिकृत कार्कीले सुनियोजित ढङ्गले सरुवा भएको स्थानमा नगई नगरपालिकाको वातावरण बिगार्ने कार्यमा तल्लीन देखिएका थिए ।

त्यसैले कार्कीलाई मन्त्रालयले २ महिनाको लागि निलम्बन गरेको मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । कार्की सरुवा भएको स्थानमा जानुपर्ने माग राख्दै गौरका स्थानियवासीहरुले शुक्रवार नगरपालिका र जिल्ला प्रशासन कार्यालय घेराउ हालेका थिए । त्यसैक्रममा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई कार्कीमाथि कार्यवाहीको लागि ज्ञापनपत्र समेत बुझाएका थिए ।

कार्कीको सरुवा भए पछि जेठ १७ गते नै गौर नगरपालिकाको प्रशासनिक तथा आर्थिक कामकाज गर्ने गरी निमित प्रमुख प्रशासकीय अधिकृतको रूपमा सोही नगरपालिकाका अलेपा अधिकृत सरोजलाल दासलाई तोकेको थियो ।