समाजवादी पार्टीभित्र दुई धार, बाबुराम–उपेन्द्रबीच सुरु भयो लफडा !
  • अनलाइनपाना संवाददाता
  • सोमवार, जेष्ठ २७, २०७६
  • काठमाडौँ

सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखा परेको छ ।सार्वजनिक रुपमा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् ।

अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् । भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दालाई स्थापित गराउन सडक आन्दोलनमै जानुपर्ने पक्षमा छन् । यो रस्साकस्सी तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच वैशाख २१ गते एकीकरण हुनु अघिदेखिकै हो ।

एकीकरणपूर्व भट्टराईले सरकार छाड्नुपर्ने धारणा राखेका थिए । यादव तत्काल सरकार छाड्न तयार भएनन् । उनले संविधान संशोधनका लागि सरकारलाई निश्चित समयसहितको अल्टिमेटम दिने र त्यति समयसम्म संशोधन प्रक्रिया अघि नबढे मात्रै सरकार छाड्न उचित हुने भनी भट्टराईलाई सम्झाएका थिए ।

पार्टी एकीकरणपछि समाजवादी पार्टीले संविधान संशोधनका लागि सरकारलाई दबाब दिँदै आएको छ । मधेसी राजनीतिलाई नजिकबाट नियालिरहेका विश्लेषक भोगेन्द्र झाको बुझाइमा उपेन्द्र सरकार छाड्ने मनस्थितिमा छैनन् । बाहिर बोले पनि यो उनको रणनीतिक चाल मात्र हो ।

‘बाबुरामजीमा सरकार छाडेर सडक आन्दोलनमा जानुपर्छ भन्ने दृष्टिकोण छ । तर, पार्टी अध्यक्ष सरकार छाड्ने मनस्थितिमा छैनन्’, झाले भने, ‘संविधान संशोधनकै मुद्धालाई लिएर उनी बाहिरिन्छन् भन्नेमा उनी निकट नेता, समर्थक र मधेसी जनतालाई समेत विश्वास छैन ।’

यादवले संविधान संशोधनकै लागि सरकारमा सहभागी भएको बताउँदै आएका छन् । आफ्नो दल सरकारमा सहभागी हुँदा दुइतिहाई पुग्ने र त्यसले संविधान संशोधन गर्न सहज हुने उनको तर्क छ । कान्तिपुर दैनिकबाट