होटलको लोगो सगरमाथामा
  • सञ्जय आचार्य
  • सोमवार, जेष्ठ २७, २०७६
  • पोखरा

पोखराको माउण्ट कैलाश रिसोर्टको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा पुगेको छ। आरोही गेल्जे शेर्पाले सो रिसोर्टको लोगो सर्वोच्च शिखर सगरमाथामा पुर्याएका हुन्।

ओखलढुङगा खिजिदेम्बा गाउँपालिका २ नस्पुका शेर्पाले ९ पटक सगरमाथाको सफल आरोहण गरी सकेका छन्। अन्तराष्ट्रिय पथप्रर्दशक समेत रहेका उनी जेठ २ गते बिहान ७ बजे शिखरमा पुगेका थिए।

सगरमाथा आरोही गेल्जे शेर्पाले शनिबार माउण्ट कैलाश रिसोर्टमा एक कार्यक्रमका बीच सर्वोच्च शिखर सगरमाथामा रिसोर्टको लोगो पुर्याएको तस्वीर सहितको फ्रेम रिसोर्टका संचालक नरेश भट्टराईलाई हस्तान्तरण गरेका थिए। रिसोर्टका सञ्चालक भट्टराईले पोखराको रिसोर्टको लोगो सगरमाथाको शिखरमा पुर्याएकामा सगरमाथा आरोही शेर्पालाई धन्यवाद दिएका थिए।

कार्यक्रममा होटलका सञ्चालक भट्टराईले शेर्पालाई पर्वतारोहण पर्यटन सम्भावना दूत घोषणा गरे। उनले यस अगाडि पनि विभिन्न देशबाट रिसोर्टले तीन वटा अर्वाड पाइसकेको बताउँदै यो पनि ठूलो उपलब्धी भएको बताए।

सगरमाथा आरोही शेर्पाले माउण्ट कैलाश रिसोर्टको लोगो सगमाथाको शिखरमा पुर्याउन पाउँदा खुसी लागेको बताए। शेर्पाले सगरमाथा २००८ बाट आरोहण गर्न शुरु गरेका हुन् भने पहिलो पटक ८०९१ मिटर आग्लो अन्नपूर्ण हिमालको आरोहण २०१८ मा गरेका थिए।