आफ्नो देश फर्किन नसके ‘जय नेपाल’ भनेर बस्नुस् : प्रधानमन्त्री ओली
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, जेष्ठ २८, २०७६
  • काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवाशका नेपालीलाई आफ्नो देश फर्किन आव्हान गरेका छन् ।स्विट्जरल्यान्डको जेनेभामा आइतबार साँझ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,तत्कालै फर्किन नसके देशको हितका लागि जय नेपाल भनेर कामना गर्नुस्।’

प्रधानान्त्री ओलीले मुलुकलाई समृद्धिमा लगेर आफ्नै देशमा अवशर सिर्जना नगराएसम्म युवा पलायन रोक्न नसकिने बताए।

‘विदेश आएका नेपालीलाई विकसित मुलुकका नागरिकले संवेदनहिन ठान्ने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब हाम्रो मुलुकलाई विदेशीहरु भिसा लिएर आउन हुरुक्क हुने खालको बनाउन तर्फ सरकार लाग्ने समेत बताए।

गायिका आनी छोइङ डोल्माको खाता रोक्का, सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु

स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ। तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनिमय दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन्।

‘विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई करिब २० करोड रुपैयाँ उनले भित्र्याइसकेकी छन्,’ अनुसन्धानमा संलग्न एक उच्च अधिकारीले भने, ‘पछि आउन खोजेको १८ करोडभन्दा बढी रुपैयाँ भने राष्ट्र बैंकले रोकिदिएको छ।’

आनीको बैंक खातामा तीनपटक आएको रकम मात्रै रोक्का भएको हो। रोक्का नभएको रकम भने उनले प्रयोग गरिसकेकी छन्। पहिल्यै भित्र्याइसकेको रकममाथि समेत अनुसन्धान हुने राष्ट्र बैंक तथा विभाग स्रोतले जनाएको छ। विदेशबाट नेपाल रकम भित्र्याउँदा अनुमति लिनुपर्ने निकायलाई जानकारी नदिई आनीको खातामा हङकङका नागरिक लियाङ, चुङ, हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेको देखिन्छ।

२०७५ वैशाख २७ गतेपछि आनीको नाममा रहेको मेगा बैंकको ००१००५००३९४२४ नम्बरको खातामा आएको सबै रकम राष्ट्र बैंकले रोक्का गरी अनुसन्धान अघि बढाएको हो। हङकङका नागरिकले वैशाख २६ गते ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर (६ करोड ४३ लाख ७७ हजार ७ सय ८० रुपैयाँ) जम्मा गरेका थिए। कान्तिपुरमा खबर छ।

काठमाडौंमा गुड्ने अधिकांश सवारीसाधन मापदण्ड विपरीत !

राजधानीको सडकमा गुड्ने अधिकांश डिजेल इन्जिनका सवारीसाधन वातावरणीय मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण केन्द्र, वातावरण विभाग र ट्राफिक प्रहरीले गरेको संयुक्त सवारी अनुगमनबाट अधिकांश डिजेल इञ्जिनको सवारी मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको हो।

तीनवटै निकायको संयुक्त टोलीले राजधानीको विभिन्न स्थानमा नियमित परीक्षण गर्दै आएको छ। आइतबार थापाथलीमा अपराह्न दुई घण्टामा जीप, कार, बस गरी ३२ वटा सवारीसाधनको निरीक्षण गरिएको थियो।

“निरीक्षणको क्रममा २७ वटा सवारीसाधनले वातावरणीय मापदण्ड पूरा गरेको पाइएन,” वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले भने।

संयुक्त परीक्षण टोलीले २६ वटा डिजेल इन्जिनमा परीक्षण गरेको थियो। त्यसमा २४ वटामा मापदण्डभन्दा बढी धुवाँको मात्रा पाइएको थियो भने छ वटा पेट्रोल इन्जिन भएको सवारी परीक्षण गर्दा तीनवटा असफल भएको परीक्षण केन्द्रका रामेश्वर कट्टेलले जानकारी दिए। परीक्षणको क्रममा हालसालै परीक्षण केन्द्रबाट हरियो स्टिकर पाएका सवारीसाधनले पनि वातावरणीय मापदण्ड पुरा गर्न सकेनन्।

सवारी परीक्षण केन्द्रका प्राविधिक इन्द्रदेव ठाकुरले वातावरणीय मापदण्ड अनुसार डिजेल इन्जिनमा सवारीले फाल्ने धुवाँमा ‘स्विट पार्टिकल्स’को ‘ओपासिटी’ अर्थात् धुवाको घनत्व ६५ प्रतिशत हुनुर्ने बताए। विभागका ‘केमिकल एनालिस्ट’ केशव पौडेलका अनुसार कार्बन मनोक्साइडको मात्रा बढी भए मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्नुका साथै वातावरणमा प्रदूषणको मात्रा पनि बढाउँछ।

परीक्षण गरिएको २६ वटामध्ये २४ वटै सवारीको ‘ओपासिटी’ ७४ देखि ९९।९ प्रतिशतसम्म रहेको पाइएको छ। गोरखापत्र दैनिकमा खबर छ।

बागमती नदी नियन्त्रण योजनामा ८५ लाख भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नदी नियन्त्रण योजनामा अनियमितता गर्ने दुईजना कर्मचारी र तीनजना ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अग्रिम भुक्तानी लिएर काम नगर्ने ठेकेदारसँग मिलेर कर्मचारीले ८५ लाख रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले सोमबार रौतहट र सर्लाहीमा सञ्चालित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ३ बाराका तत्कालीन कार्यालय प्रमुख हीरानन्द झा र तत्कालीन लेखा प्रमुख (लेखापाल) अरुणकुमार राईविरुद्ध मुद्दा दायर गरेको हो।

तीन ठेकेदारविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर भएको छ। निर्माण कम्पनी एमके निर्माण–बज्रगुरु–दी कञ्चनजंघा जेभीको पार्टनर दी कञ्चनजंघा निर्माण सेवाका प्रबन्ध निर्देशक तेन्डी शेर्पा, एमके निर्माण सेवाका कार्यकारी निर्देशक जीवन थापा, बज्रगुरु निर्माण सेवाका अध्यक्ष रेवन्तकुमार बस्नेतविरुद्ध मुद्दा दायर भएको हो।

दुईवटा प्याकेजमा सो ठेक्का दिइएको थियो। एउटा प्याकेजको ५० लाख ६४ हजार ६ सय २० रुपैयाँ तथा अर्को प्याकेजको ठेक्कामा ३५ लाख २६ हजार रुपैयाँ अग्रिम भुक्तानी दिइएको थियो। कर्मचारीले बैंक जमानत दाबी गर्नुपर्नेमा नगरेकाले सरकारलाई ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ हानि भएको थियो। नयाँ पत्रिकामा खबर छ।

नेकपामा नेतृत्वको स्वेच्छाचारीविरुद्ध ४० नेता गोलबद्ध

सत्तारूढ नेकपाका २१ केन्द्रीय सदस्यले गत मंसिरमा केन्द्रीय समिति बैठक बोलाउन पार्टी अध्यक्षलाई ज्ञापनपत्र बुझाए। नीति निर्माणको केन्द्रीय थलो केन्द्रीय समितिको एक वर्षयता बैठक नबसेपछि उनीहरूले सामूहिक रूपमा लिखित ध्यानाकर्षण गराएका थिए। त्यसयता एकपटक स्थायी समिति बैठक बसे पनि अहिलेसम्म केन्द्रीय समितिको बैठक बसेको छैन। पोलिटब्युरो गठन हुन सकेको छैन। नेताहरूको क्षमताअनुसारको जिम्मेवारी विवाद अझै जारी छ।

केन्द्रीय नेताहरूको कार्यविभाजन दोहोरो जिम्मेवारी दिने–नदिने विवादमा अल्झिएको छ। एकता प्रक्रियाको गोलचक्करमै नेताहरूले एक वर्ष बिताएका छन्। अन्तरपार्टी जनवाद कमजोर बनाइएको, पार्टीभित्र छलफलको वातावरण नबनाइएको र निकै भद्दा वा ठूलो बनाइएको केन्द्रीय समितिको बैठक बोलाइहाले पनि नेताहरूको भाषण सुनाएर समापन गर्ने गरिएको ती नेताहरूले नेतृत्वसँग असन्तुष्टि पोखेका थिए।

उनीहरूले पार्टी बैठक नियमित र जीवन्त बनाउन पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएको सात महिना पुगेको छ। तर त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन। ‘एकपटक महासचिवमार्फत पार्टी अध्यक्षलाई बैठक नबसेको विषयमा ध्यानाकर्षण गरायौं, तर पनि बैठक बस्न सकेको छैन। लाजैमर्दो अवस्था छ,’ ज्ञापनपत्र बुझाउनेमध्येका नेता डा. विजय पौडेलले अन्नपूर्णसँग भने, ‘कार्यविभाजन टुंगिएला र बैठक बस्ला भन्ने आस थियो तर फेरि अल्झिएको छ।

कति बोल्नु रु अब प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्केपछि छिटो बैठक बोलानुभएन भने फेरि घच्घच्याउनुपर्ला।’ अभियानमा पौडेल मात्र छैनन्, उनीसँगै केन्द्रीय नेताहरू जगन्नाथ खतिवडा, ठाकुर गैरे, शत्रुधन महतो, ममता गिरी, जयन्ती राई, गरिमा शाह, निरज आचार्य, भाष्कर काफ्ले, प्रेमलकुमार खनाल, माधव अर्याल, पशुपति चौलागार्इं, मेटमणि चौधरी, रबिन कोइराला, विरोध खतिवडा लगायत छन्।

उनीहरूको अभियानमा सुरुमा २१ जना जोडिए पनि अहिलेसम्म झन्डै ४० भन्दा बढी नेताहरू गोलबद्ध भइसकेको अर्का नेता जगन्नाथ खतिवडाले बताए। त्यसपछि पनि नेतृत्वको स्वेच्छाचारी र मनोमानी कार्यशैलीगत समस्याबारे उनीहरूले विभिन्न चरणमा छलफल गरिसकेका छन्। ‘अझै छलफल जारी राख्दै अगाडि जाँदैछौं,’ नेता खतिवडाले भने।

पार्टी, सरकार र संसदीय दल सञ्चालन, सुशासन, सादा जीवनशैली, आचरण र वैचारिक दिशाबोधका विषयमा केन्द्रित रहेर त्यसबेला उनीहरूले महासचिवमार्फत अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका थिए। नेतृत्वले पार्टीभित्र गम्भीर विषय उठ्दा महसुस गरेको अभिनय गर्ने, तत्कालका लागि असन्तुष्टि र आवेग शान्त बनाउन ‘कमजोरी भएको र अब नगर्ने’ मौखिक बाचा गर्ने, समस्यालाई अल्पकालीन रूपमा पन्छाउने तर व्यवहारमा मिचाहा शैलीलाई पुनरावृत्ति दिने काम गरिरहेको यो समूहको आरोप छ।

उनीहरू मात्रै होइन, पार्टी नेतृत्वले केन्द्रीय नेतालाई समेत वर्ष दिनसम्म कामको जिम्मेवारी नदिई बेरोजगार बनाएपछि प्रभावशाली नेताहरू आफ्नै अभियानमा सक्रिय हुन थालेका छन्। पार्टीभित्रका मात्र होइन, पार्टीइतरका कम्युनिस्ट घटकलाई पनि एकै थलोमा ल्याएर मार्क्सवादका विषयमा बहस–प्रशिक्षण चलाउने उद्देश्यले घनश्याम भुसाल, राम कार्कीलगायत नेताहरूको अगुवाइमा अर्को अभियान पनि चलिरहेको छ। अन्नपूर्ण पोस्टमा खबर छ।