नाम जस्तै ‘सुन्दर’ काम सुन्दरको ! विद्यार्थी निशुल्क पढाउन देखि शिक्षक फि सम्म तिर्दै !
  • तेजन खड्का
  • मङ्लबार, जेष्ठ २८, २०७६
  • उर्लाबारी

मोरङ उर्लाबारी—९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले गतवर्षझैँ यस वर्ष पनि १० जना विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्ति बराबरको सहयोग गरेका छन् । आज सोमबार स्थानीय प्रभात आधारभूत विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीको पठन पाठनको जिम्मा लिदैं छात्रवृत्ति उपलब्ध गराएका हुन् ।

श्रेष्ठले विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि ८ कक्षासम्म अध्ययरत १० जना विद्यार्थीका लागि वर्षभरिका लागि आवश्यक पोशाक, कापीकलम, जुत्ता, ब्याग र विद्यालमा लाग्ने शुल्क उपलब्ध हस्तान्तरण गरे ।

उनले पठनपाठनमा मन भएका विपन्न परिवारका विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि आफूले सहयोग गरेको बताए । उनले गतवर्ष पनि आफूले १० जनालाई छात्रवृत्ति दिएको बताउँदैै सोही कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको बताए । उनका अनुसार यस वर्ष केही विद्यार्थी फेरबदल चाहिँ भएका छन् ।

उनले भने, ‘छात्रवृत्ति पाउने विद्यार्थीले छात्रवृत्ति पाएअनुसार प्रगति गर्न सकोस्, छात्रवृत्तिको सही सदुपयोग होस्, यस वर्ष उत्कृष्ट तथा विपन्न परिवारका नानीहरूलाई छनोट गरेका छौँ ।’

‘त्यसबेला घरको अवस्था दयनीय भएकाले हाम्रो पालामा पढ्ने बेलामा कहिले कापी किन्ने पैसा हुँदैन थियो, त कहिले कलम किन्ने, अहिलेजस्तो जुत्ता लगाउने, ब्याग बोक्ने कुरा त सपना जस्तै थियो । आज तिनै दिनहरू सम्झेर बाल्यकालमा भोग्नुपरेको समस्या महसुुस गरी छात्रवृत्ति उपलब्ध गराएको हुँ,’ कार्यक्रममा आफ्नो विगत सम्झँदै भने । उनले विद्यालयको दयनिय अवस्था देखेको र स्तरोउन्नतीमा टेवा पुगोस भनेर प्रभात स्कुललाई सहयोग गरिरहेको बताए ।

छात्रवृत्ति पाउनेहरूमा मिलन जिमी, विमल विश्वकर्मा, कुशल लिम्बू, भूमिका खतिवडा, सजना लिम्बू, मनीषा लिम्बू, ओसिन मारापाँचे, सुमित लिम्बू, पूर्णमाया खड्का र अनिशा राई रहेका छन् ।

श्रेष्ठले यसअघि विद्यालयमा मञ्च बनाइदिनुका साथै पर्खाल निर्माण र रंगरोगनमा समेत सहयोग गरेका गरिसकेका छन् । उक्त विद्यालयका पूर्वविद्यार्थी समेत रहेका श्रेष्ठले विद्यालयका लागि आफै तलव उपलब्ध गराएर एक जना अंग्रेजी शिक्षिका पठन पाठनका व्यवस्था गरेका छन् ।

उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष बम फ्याकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य हुकमाया श्रेष्ठ,तेजेन्द्र साँवा,समाजसेवी प्रकाशचन्द्र सापाकोटा लगायतको विद्यार्थी अभिभावकको सहभागिता रहेको थियो ।
को हुन् सुन्दर ?

घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाडौं हानिएका थिए,सुन्दर । खोपीडाँडामा जन्मेहुर्केर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका हुन् । सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमीक लिएर ज्यालामजदुरी सुरु गरेका थिए । हुन त उनको विगतले पनि उनलाई समाजसेवा तर्फ लाग्न प्रेरित गर्यो ।

परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जन्मिएर हुर्किएका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा नै बित्यो । तीन दाजुभाई मध्ये कान्छा उनले पढाई राम्रो गर्न सकेनन् । पढाइ बिग्रिएपछि एसएलसी दिएर उनी काठमाडौं हिँडेका थिए । काठमाडौंमा गरेको कमाईले उनले पराल र सन्ठीको घर भएको ठाउँमा काठको घर हुँदै पक्की घर बनाए ।

अहिले पनि उनले आफूले काम गर्दै आएको निर्माण क्षेत्र र हाउजिङ व्यवसायबाट आएको पैसा नै गाउँको विकासमा लगानी गर्दै आएका छन् । उनको सोच भावी सन्ततीले दुःख भोग्न नपरोस भन्ने नै हो । मानिसहरु आफ्नो गाउँठाउँलाई बिर्सिदिन्छन्, सुविधा खोज्दै अन्यत्र जान्छन् । तर उर्लाबारी—९ का युवा समाजसेवी सुन्दर श्रेष्ठ त्यसका अपवाद हुन् ।सुन्दर काठमाडौंमा कडा परिश्रम गर्छन्, अनि त्यसको प्रतिफलको केही हिस्सा गाउँको विकासमा खर्चिन्छन् । हाल उनी ठेक्कापट्टा र हाउजीङ्ग व्यवसायमा सम्लग्न छन् । सुन्दर भन्छन्, म अझै आफुलाई एउटा लेबर हुँ भन्न रुचाउछु ।

गाउँको पीडामा सक्दा मल्हम पट्टी लगाउने प्रयास हो मेरो । सुन्दर भन्छन्, ‘इच्छा शक्तिका साथै सबै लागिपर्ने हो भने समृद्धी खोज्न अन्यत्र भौतारिनु पर्दैन ।’ राजधानीलाई कार्यथलो बनाएका उनले आफ्नो गाउँमै बसेर केहि गर्ने योजना बनाएको बताए । उनले भने, ‘पछि गएर गाउँमा कृषि र पशुपालन व्यवसाय गर्ने लक्ष्य छ । माछापालन, कुखुरा पालन गाउँमा सुरु गरिसकेको छु ।’

नाम जस्तै काम

श्रेष्ठले आफु जन्मे हुर्केको वडाको विद्यालय तथा गाउँलाई उल्लेखनिय सहयोग गरिरहेका छन् । यतिबेला उनी आफ्नो वडाको विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न विद्यालय बनाउन क्रियाशिल छन् ।

सुन्दर श्रेष्ठ यस्तो समाजसेवी हुन्,जो अरुलाई मागेर होईन, आफ्नो पसिना बगाएर कमाएको रकम गाउँको विकासमा खर्चिदैछन् । श्रेष्ठ जस्तो सहयोग गर्ने मानिसहरु समाजमा विरलै पाईन्छ,उनलाई जान्ने बुझ्नेहरु भन्छन् ।

उर्लाबारी—९ को प्रभात निमावि, राजघाट निमावि र सार्वजनिक माविमा उनले उदाहरणयोग्य सहयोग गरेका छन् । जसको कारण अभिभावकहरु र स्थानीयहरुको जनजिब्रोबाट सुन्दर श्रेष्ठको प्रशंसा भईरहेको पाईन्छ। सुन्दरले प्रभात निमाविमा आफ्नो एकल लगानीमा ट्रस सहितको स्टेज बनाइदिएका छन् । उनले घेराबारामा पनि महत्वपूर्ण सहयोग गरेका छन् । विद्यालयमा पिङ वालउद्यानका समाग्रीहरु सहयोग मात्र गर्नु भएको छैन, विद्यालयमा रंगरोगन पनि आफ्नै खर्चमा गरिदिएका छन् ।

त्यो भन्दा अझ महत्वपूर्ण कुरा विद्यालयका १० जना विद्यार्थीलाई आफ्नै खर्चमा पढाईरहेका छन् । आफ्नै लगानीमा एक जना शिक्षक राखिदिएपछि अहिले विद्यार्थीलाई अंग्रेजी शिक्षाको लागि निक्कै सहजता भएको छ । श्रेष्ठले विद्यार्थीको फि मात्र हैनन, अंग्रेजी शिक्षकको तलव पनि तिरिदिन्छन् ।

श्रेष्ठले विद्यार्थीको लागि परिचय बनाईदिदैं खेल समाग्री पनि सहयोग गरेका छन् । श्रेष्ठ आफुले सहयोग गरेको स्कुलमा पठनपाठन पनि राम्रो होस भनेर शिक्षक र विद्यार्थीलाई सुझाप दिन्छन् । भौतिक विकास मात्र भयो र पढाई खस्कियो भने त्यसको के अर्थ, जसको लागि अभिभावक र शिक्षक जोडतोडले लाग्नुपर्छ।

उनले राजघाट निमावि उर्लाबारी—९ मा पनि गेट निर्माण गरिदिएका छन् । विद्यालयमा घेराबारा भयो, तर सुरक्षित प्रवेशद्धार नहुँदा समस्या थियो, प्रअ गोपाल श्रेष्ठले भने, स्वागत गेट निर्माण गरिदिएर विद्यालयको ठुलो सुरक्षा भएको छ ।

अन्य निकायबाट आश्वसन मात्र पायौ, सुन्दर सरले एकैबचनमा काम गरिदिए,उनले भने । सुन्दर श्रेष्ठ विद्यालयमा सहयोग मात्र गर्दैनन् । काठमाडौंबाट घर आएका बेला विद्यालयमा गएर विद्यालयका समस्याहरु बुझ्ने गर्छन । विद्यार्थीलाई पढाई कस्तो छ, सर मिसले कस्तो पढाउछन् भनेर सोधुपुछ पनि गर्छन् ।शैक्षिक अवस्था सुर्धान अनुरोध गर्छन्। अभिभावकहरुसँग अन्तरक्रिया गर्छन् ।

श्रेष्ठको सहयोगमा सार्वजनिक मावि आम्बारीमा पनि पक्की स्टेज बनको छ । विद्यालयले श्रेष्ठले समस्या राखेपछि श्रेष्ठले आफ्नो सहयोगी मन फराकिलो बनाए । गाउँमा जेष्ठ नागरिकको लागि बृद्धबृद्धा चौतारी निर्माण, सडकबत्ति जडान,खेलकुद मठमन्दिर लगायतमा विविध क्षेत्रमा सहयोग गर्दै आएका श्रेष्ठ सहयोगको सहि सदुपयोग भए आफुलाई पनि खुशी लाग्ने बताउछन् ।

विकासको काम जो जस्ले गरेपनि सबैले साथ सहयोग गर्नुपर्ने श्रेष्ठ उनको भनाई छ । विकासको नाममा गरिने राजनिती श्रेष्ठलाई पटक्कै मन पर्दैन् । सामाजिक काम गर्दा आफुलाई खुट्टा तान्नेहरु निस्किएको पाएका सुन्दर आफ्नो सुन्दर यात्रामा कतिपनि विचलित छैनन् । भन्छन,बरु उनीहरुलाई त धन्यवाद दिन चाहान्छु, झन समाजमा राम्रो काम गरेर देखाउने अठोट बढ्ने रैछ ।

बसाई काठमाडौं, मन गाउँमै

अलिकति कमयो,जमायो भने धेरै जसो मानिसहरु आफ्नो गाउँ ठाउँ नै बिर्षिन्छन्,बसाई छोडेर सुविधा खोज्दै अन्यत्र जान्छन् । तर श्रेष्ठ त्यसमा अपवाद भित्र पर्छन्, जो जहाँ रहेपनि गाउँकै यादमा अनि विकासमा चिन्तित हुन्छन् । काठमाडौं टिकाथली बस्दै आएका सुन्दर काठमाडौंमा कडा परिश्रम गर्छन्,अनि परिश्रमको केहि प्रतिफल आफ्नो गाउँको विकासमा खर्चिन्छन् । आफ्नो जन्मथलो आउजाउ गरिरहन्छन् । शहरकै जस्तै गाउँमा ठुलो पक्की घर बनाएका छन् ।

गाउँमा सडक बत्ति जडान र विद्यालयहरुमा सहयोग गर्दै आएका सुन्दर एउटा गीत सम्झदैं भन्छन्, जति भुलु शहरको रमझममा,मन त आखिर आफ्नै गाउँमै हुन्छ । सुन्दर काठमाडौंमा भएपनि उनलाई गाउँको विकास निर्माण,खेलकुद तथा विविध काममा सहयोगको लागि फोन आउछ ।

गाउँको विकास निर्माणमा सक्रिय सुन्दर गाउँ आउदा सामाजिक काममा ब्यस्त रहन्छन् । पहिल्यै निक्कै संघर्ष गरेर स्थापित भएका सुन्दर धन भएर भन्दा पनि मन भएर सहयोग गरेको बताउछन् । राजधानिलाई संघर्षभुमी बनाएका सुन्दरले आफ्नो गाउँमै बसेर केहि गर्ने योजनाहरु बनाएको बताए ।

विकास गर्न जनप्रतिनिधि नै हुनु पर्दो रहेछ र ?

कतिपयले आफूले गरेको विकासलाई देखाएर चुनाव जित्छन् अनि कतिपय चाँहि विकास गर्ने बाचा देखाएर जनप्रतिनिधि बन्छन् । विकासको बहाना बनाएर चुनाव जितेपछि त्यतातिर फर्किएर पनि नहेर्ने चलन नभएको पनि होइन । यही कोही यस्ता पात्र पनि छन्, जो चुनावको उम्मेदवार पनि होइनन् र कालो धन लुकाउन गरेका पनि होइनन् । तर, उनीहरु विकास र गाउँको उन्नति प्रगतिका लागि जीवन समर्पण गर्छन् ।

सुन्दर श्रेष्ठ, यस्तै व्यक्तिमा पर्छन, जसको काम नामजस्तै सुन्दर छ । गाउँको स्तरोउन्नतिका लागि उनी आफ्नो नीजि खर्चमा नै समाजसेवामा तल्लिन छन् । कहिले सडक बत्ति जडान त कहिले विद्यालयमा सहयोग, खेलकुद र बाटोघाटोको निर्माणमा उनको योगदान रहँदै आएको छ ।

उनलाई कुनै चुनावी एजेन्डा बनाउनु पनि छैन, चुनावका बेला यो गर्छु, त्यो गर्छु भनेर बाचा गर्नेका लागि उनले गरेको यस्ता कामले चुनौति नै थपिदिएको छ । विकासका लागि इच्छाशक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ भन्ने उदाहरण बनेका छन्, सुन्दर । जसले आफ्नै लगानीमा गाउँ नै सुन्दर अर्थात समृद्ध बनाउँदै छन् । यो यात्रामा सकुन्जेल अघि बढ्ने सोच रहेछ, उनको । सुन्दर भन्छन्, ‘सकुन्जेल गाउँको विकासमा लाग्ने हो, नसकेका दिन एक थोक पक्कै हुन्छ । हामीले राम्रो जग बसाउन सक्यौं भने गाउँले छिट्टै मुहार फेर्नेछ ।’

विद्यालय, गाउँका सडक बत्तीमा उनले सहयोग गरेका छन् । आफ्नै लगानीमा बाटो, खेलकुद तथा कला संस्कृतिका क्षेत्रमा पनि उनको सहयोग छ । सकारात्मक सोचका साथ सहयोगी हात लिएर अएकालाई उनले रित्तो हात फर्काउँदैनन् ।