पश्चिमी वायु सुदुरपश्चिम हुँदै नेपाल छिर्‍यो, सतर्क रहन सबैमा आग्रह
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रणाली सुदुर पश्चिम नेपालबाट प्रवेश गरेको केहीबेर अघि जानकारी गराएको छ । यो प्रणालीले हावाहुरीसहित मेघ गर्जन गराउने र मध्यम खालको वर्षा गराउने सम्भावना रहेको समेत पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् समीर श्रेष्ठले बाह्रखरीलाई जानकारी गराएअनुसार बिहान सबेरै भारतको उत्तराखण्डमा रहेको सो वायु अहिले नेपालतर्फ छिरेको हो । उक्त वायु ४०–५० किमी प्रतिघण्टाको दरले बहेको जनाउँदै मौसमविद् श्रेष्ठले संरचना कमजोर भएको अवस्थामा असर गर्न सक्ने भएकोले सतर्क रहनुपर्ने जनाएका छन् ।

उनका अनुसार सामान्य जस्ताको छानो छ भने उडाउने सम्भावना समेत हुन सक्छ । उनले सो वायु मध्यपश्चिमसम्म आउने र त्यसपछि उत्तरपूर्व अर्थात तिब्बततिर लाग्ने अपेक्षा गरिएको समेत जनाए । सो वायु छिटपुट वर्षासँगै आउने र वायु गइसकेपछि थप वर्षाको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पश्चिमी भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहने र पूर्वी र मध्य भूभागहरूमा आंसिक देखि सामान्य बदली रहने जनाइएको छ । पूर्वी तथा मध्य भूभागका थोेरै स्थान र पश्चिमी भूभागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

सुदूरपश्चिममा हावाहुरी चलिरहेको र हल्का वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्‍नेतले जानकारी दिए । यसअघि २३ जेठमा आएको हावाहुरीले ठूलो धनजनको क्षति गरेको थियो । जसमा दुईजनाको ज्यान जानुका साथै एक सय बढी घाइते भएका थिए । त्यहाँ हावहुरीले रुखढलेर विद्युतका पोलहरु खस्दा विद्युत अवरुद्ध भएको छ । आजसम्म पनि ग्रामिण क्षेत्रमा विद्युत सेवा सुचारु हुन सकेको छैन ।

भोलि बिहीबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै शुक्रबार पनि देशका विभिन्न भागमा आंशिक बदली रहने र मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।