यौनकर्मीलाई पनि स्पेस दिऊँ
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

कुनै बेला (०५०/५२ तिर) को कुरा हो, चेलीबेटी बेचबिखनविरुद्ध अभियान चलाइरहँदा पत्रकारहरूका जिज्ञासामा भन्ने गर्र्थें, ‘यौन व्यवसायले नेपालमा कुनै पनि हालतमा कानुनी मान्यता पाउनु हुँदैन।’ त्यो समय अर्कै थियो, परिस्थिति पनि फरक। तीनताका थोरै व्यक्तिले अति लुकेर यस्ता कार्य गर्दथे। तर समय बदलिएको छ ।

आजको अवस्थामा यो–यो पेसा जताततै महसुस गर्न सकिने अवस्थामा छ। समयसँगै धेरै परम्परा र मान्यता पनि बदलिँदा रहेछन्।

हिजोआज वरिपरिको वातावरण हेरेर मेरो पनि देहव्यापारप्रतिको पुरानो धारणा बदलिएको छ। मलाई लाग्छ, ‘नेपालमा देह व्यापार नियन्त्रित हिसाबले कानुनभित्र चल्न दिनुपर्ने समय आइसकेको छ। किनकि अनियन्त्रित देह व्यापार कानुनी मान्यता दिँदाको अवस्थाको भन्दा घातक हुने गर्छ। देह व्यापारमा लागेका यौनकर्मीहरूलाई नजिकबाट बुझ्ने हो भने अधिकांशतः पेट पाल्न र दैनिकी चलाउन यो पेसा अँगाल्न बाध्य भएका हुन्।

ओठमा बाक्लो लिपिस्टिक र साजसज्जामा देखिने प्रत्येक यौनकर्मीहरूका वास्तविक जीवन अर्कै छ। जति जानियो, त्यति नै कारुणिक छन्। उनीहरू प्रत्येकको दुःखद सत्यकथा ध्यानपूर्वक सुन्ने हो भने आँखा रसाउँछन्। तर ग्राहकहरू त्यो सत्य कथाभित्र प्रवेश गर्दैनन्।

पहाड झैं दुःख मनभित्रै कैद गरी लिपिस्टिक र पाउडरले सत्यकथा छोपेका यौनकर्मीहरू संवेदनहीन ग्राहकलाई आफ्ना कथा सुनाउन पनि चाहँदैनन्। किनकि उनीहरूलाई हतार हुन सक्छ, त्यो काम पूरा गरी घरका लागि तरकारी, चामल र बच्चाका लागि दूध किन्न।

उनीहरूभित्र जे दुःख र बाध्यता छ, त्यो सरकार र समाजले सुन्ने अवस्था पनि छैन। र, सुनाएर हल हुनेवाला पनि छैन। ती कथा बताएर तिनले राहतभन्दा बढी गाली, अपमान र तिरस्कार पाउने अवस्था छ। यौनकर्मीहरूलाई कानुनी ‘स्पेस’ दिनुपर्ने विषय राख्दा नेपालमा अझै तालीभन्दा गाली बढी खाइन्छ।

यो काम गरिनु हुन्न भन्नेहरू नै धेरै हुन्छन्। तर हुन्न भन्नेहरूसँग पनि यौनकर्मीहरूका बाध्यता समाधान गर्ने सामथ्र्य छैन। हुन्न भन्नेहरूमध्ये आफूलाई सफा देखाउन हुन्न भन्ने र मनको कुनै कुनामा उनीहरूसँग सम्पर्क राख्न तीव्र चाहना गर्नेहरू पनि छन्।

वास्तवमै नजिकबाट सुन्ने हो भने र यौनकर्मीहरूले मन खोलेर भन्ने हो भने उनीहरू प्रत्येकको जीवन कथामा चलचित्र बन्न सक्तछ। म यहाँ एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु, जुन सत्य हो। एकजना करिब बीस–एक्काईस वर्षकी चेली विकट पहाडबाट काठमाडौंको डेरामा बसी कलेज पढ्दै छिन् र उनको घरमा गरिब बूढा आमा–बुवा र जड्याहा दाजु छन्।

उनलाई पढाउने खर्च गरिब आमाबुवाले बोका बेचेर जुटाउने योजना गर्छन्। तर, दुर्भाग्यवश बोकाको पनि मृत्यु हुन्छ। जड्याहा छोराबाट आतंकित बाबुरआमा आफैं बिरामी छन्। अन्नपूर्णपोष्टबाट