लोक सेवा उतीर्ण भएर जागिर खाने युवाहरुको अधिकार हनन् भयो : संयोजक मिश्र
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले स्थानीय तहमा कर्मचारी नियुक्तीका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिन संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिसँग माग गरेका छन् ।

संयोजक मिश्रले संसदीय समितिले दिएको सो निर्देशन नमान्न लोकसेवा आयोगको पनि ध्यानाकर्षण गराए । लोकसेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको सो निर्देशन पालना गर्न बाध्य नहुने उनको तर्क छ ।

बुधबार संसदीय समितिले दिएको सो निर्देशन फिर्ता लिन दबाब दिँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका युवाहरुलाई सम्बोधन गर्दै संयोजक मिश्रले लोकसेवा आयोगलाई राज्य व्यवस्था तथा सुशासन समितिले दिएको सो निर्देशन नमान्न दबाब दिन पनि आह्वान गरे ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको गत सोमबार बसेको बैठकले सो विज्ञापन तत्काल रद्द गर्न सरकार र लोकसेवा आयोगलाई निर्देशन दिएको थियो । संसदीय समितिको सो निर्देशनले युवा, विद्यार्थीहरुलाई प्रतिस्पर्धाको आधारमा लोक सेवा आयोगको परीक्षाबाट उतीर्ण भएर जागिर खाने अधिकार हनन् गरेको संयोजक मिश्रको भनाइ छ ।

यो देश कसैको विर्ता होइन : रवीन्द्र मिश्र

लोकसेवाका परीक्षार्थीले थालेको आन्दोलनमा समर्थन जनाउन साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पनि माइतीघर पुगेका छन् ।स्थानीय तहमा भर्ना गर्न ९ हजार १ सय ६६ जना कर्मचारीका लागि जेठ १५ गते लोक सेवाले खोलेको विज्ञापन संसदको राज्य व्यवस्था समितिले रद्द गर्न निर्देशन दिएसँगै आन्दोलित युवाहरुलाई साथ दिन मिश्र माइतीघर पुगेका हुन् ।

‘यो देश कसैको विर्ता होइन, तपाईंहरुले आज आफ्ना लागि आवाज उठाए जस्तै अरु बेला पनि उठाउन सक्नुपर्छ’, उनले भने, ‘तपाईं जे लाई घर भन्नु हुन्छ, त्यो झुपडी हो। त्यो झुपडीबाट आउनुभएको छ।

तपाईंहरु अघि बढ्नुस्, हामी होस्टेमा हैँसे गरौँला। तर हरेक राष्ट्रिय महत्वको मुद्दामा बोल्नुपर्छ ।’ यो देश सबैको भविष्य भएको बताउँदै मिश्रले यो आन्दोलनमा सबैले होस्टेमा हैँसे गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।