पुर्व अर्थमन्त्री पान्डेद्वारा शक्तिखोर औद्योगिक क्षेत्रको अवलोकन
  • अनलाइनपाना संवाददाता
  • बुधबार, जेष्ठ २९, २०७६
  • काठमाडौँ

चितवनको कालीका नगरपालिका स्थित डिपिआर सम्पन्न भई ईआईएको तयारीमा रहेको शक्तिखोर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गरिएको छ ।

अवलोकनका क्रममा अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले शक्तिखोर औद्योगिक क्षेत्रले चितवन मात्रै नभएर देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने समेत बताए । प्रदेश सदस्य कृष्ण खनालले प्रदेश नं ३ अन्तर्गत बन्ने तयारीमा रहेको यस परियोजनालाईलाई प्रदेशले गौरवको रुपमा लिएको र छिट्टै नै यसको निर्माण कार्य अगाडि बढ्ने बताए ।

त्यस्तै चितवन उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग परिसंघ राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडीले शक्तिखोर औद्योगिक क्षेत्र निर्माण भएसँगै विभिन्न ठाउँमा छरिएर रहेका साना, मझौला र ठूला उद्योगहरु एकैठाउँमा हुने हुँदा पनि यस औद्योगिक क्षेत्रको सम्भावना बढेको बताए ।

त्यस्तै कालीका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले कालीका नगरपालिकाभित्र बन्ने शक्तिखोर औद्योगिक क्षेत्रले कालीका नगरपालिकाको मात्र नभई समग्र राष्ट्रको ध्यान तानेको हुँदा यस परियोजनालाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताए ।

चाइनिज टोलीसँगै पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डे, प्रदेश सभा ख क्षेत्र नं १ का सदस्य कृष्ण खनाल, चितवन उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग परिसंघ राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडी, कालीका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, कालीका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष विनोद रेग्मी, चितवन उद्योग संघका कार्यसमिति सदस्य एवं कालीका इकाई समितिका संयोजक प्रकाशचन्द्र भट्टराई, स्थानीय सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

स्थलगत अवलोकनका क्रममा चाइनिज टोलीसँगै औद्योगिक क्षेत्रको सम्भाव्यताका बारेमा छलफल गरिएको थियो । उद्योग सञ्चालनका लागि शक्तिखोर औद्योगिक क्षेत्र निकै महत्वपूर्ण स्थान हुनसक्ने र औद्योगिक प्रवर्धनमा यसले देशकै पहिचान दिनसक्ने टोलीको धारणा थियो ।

स्थानीय सरोकारवालाहरुले निकै महत्वका साथ हेरिएको यस परियोजनालाई स्थानीयको साथ र सहयोग रहने समेत विश्वास गरिन्छ ।