सोमबार सार्वजनिक विदा !
  • अनलाइनपाना संवाददाता
  • शनिबार, जेष्ठ ३२, २०७६
  • काठमाडौँ

कतिपय स्थानिय पर्व विशेषमा स्थानिय तहहरुले आफ्नो क्षेत्रमा मात्रै भएपनि सार्वजनिक विदा दिने गरेका छन् । यहि क्रममा मोरङको उर्लाबारी नगरपालीकाले असार २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरको छ ।

मोरङको उर्लाबारी नगरपालिकाले धिमाल जातिको पर्व जात्री तथा सृजातको अवसरमा असार २ गते स्थानीय विदा दिएको छ । शुक्रबार नगरपालिकाले एक सूचना प्रकाशित गरी स्थानीय सार्वजनिक विदाको घोषणा गरेको नगर प्रमुख खड्ग बहादुर फागोले जानकारी दिएका हुन् ।

गत वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएको जात्री असार २ गते उर्लाबारी–३ मा भव्य मेला लागेर समापन हुने गर्दछ । प्रदेश नंं १ मा रहेका धिमाल समुदायले यो पर्व वैशाख २ गतेदेखि असार २ गतेसम्म मनाउने गर्छन् ।

प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् ।परापूर्वकालमा धिमालहरुले यी समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएको र यसलाई निरन्तरता दिदैं मनाउदै आएको जनविश्वास छ ।

आइतबार काठमाडौँका निजी विद्यालय बन्द

निजी विधालयहरुको छाता सँगठन एन प्याब्सन काठमाडौँका सहसचिव, एनप्याव्सन गोकेर्णेश्वर नगरकमिटीका अध्यक्ष एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण असार १ गते आइतवार काठमाडौँका सम्पुर्ण निजी विधालयहरु बन्द हुने भएको छ ।

प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा आइतवार काठमाडौँ भरिका सम्पुर्ण निजी विधालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विधालयहरुलाई अपील गरेका छन् ।

प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेर एक विज्ञप्ती जारी गर्दै आइतवार निजी विधालय बन्द गर्ने जानकारी गराउँनु भएको छ ।

लामो समय देखि शिक्षा क्षेत्रमा सकृय गुरुङको उपचारका क्रममा विहिवार मेडिसिटी हस्पिटलमा निधन भएको थियो । बे्रन ह्यामरेजको अपरेशसन असफल भएपछि उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

को हुन् बालकुमार गुरुङ ?

तेह्रथुम जिल्लाको आठराईमा २०३५ साल माघ २० गते जन्मनु भएका गुरुङ शिक्षा र राजनिति क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । सानै उमेर देखि साहित्य, संगित र राजनितिमा चासो राख्ने उहाँले राजनिती र शिक्षा दुवै क्षेत्रमा राम्रो स्थान बनाउँनु भएको छ । उहाँ हाल विद्यावाराधीको समेत तयारी गर्दैहुनुहुन्थ्यो भने जनसंख्या र समाजशास्त्र विषयमा उहाँले मास्टर डिग्री गर्नु भएको छ ।

लामो शैक्षिक अनुभव बटुल्नु भएका गुरुङ पुष्पलाल मेमोरियल कलेज चावहिलका संचालक अध्यापक, कान्तिपुर एकेडेमी हाइस्कुल बौद्ध पिपलबोटका प्रिन्सिपल, निजी विद्यालयहरुको छातासंगठन एन प्याब्सन काठमाडौका सहसचिव तथा एन प्याब्सन गोकेर्णेश्वर नगर एन प्याब्सन कमिटीको अध्यक्ष समेत हुनुहुन्थ्यो । सानै उमेरमा नेविसंघ तेह्रथुमको अध्यक्ष समेत भेसक्नु भएको थियो ।