नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो
  • अनलाइनपाना संवाददाता
  • मङ्लबार, असार ३, २०७६
  • काठमाडौँ

साताको दोस्रो कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको छ । निरन्तर ३ कारोबार दिन ओरालो लागेको नेप्से यस दिन शून्य दशमलव २१ प्रतिशत बढेर बन्द भएको हो । नेप्से बढे पनि यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार ४७ करोडबराबरको सेयर किनबेच भएको बजारमा यस दिन ४० करोडबराबरको मात्र सेयर किनबेच भएको छ ।

बजारले कुन दिशा लिन्छ भन्ने निश्चित नभएका कारण लगानीकर्ता अन्योलमा परेका छन् । नेप्से बढे पनि कारोबार रकम घट्नाले लगानीकर्तामा थप अन्योलता थपिएको छ । बजार बढ्नका लागि परिसूचकसँगै कारोबार रकम पनि बढ्न जरुरी छ ।

नेप्से बढे पनि कारोबार रकम घटे बजारको वृद्धि दिगो नहुने एक लगानीकर्ताले बताए । लगानीकर्ता यही महिनामा सार्वजनिक हुने मौद्रिक नीतिप्रति आशावादी भएका छन् । बजेटजस्तै मौद्रिक नीतिले पनि पुँजीबजारका आवश्यकतालाई सम्बोधन गर्ने लगानीकर्ताको अपेक्षा रहेको छ । यही आशाले बजार बढ्न टेवा पुगेको एक लगानीकर्ताले बताए ।

बजार सारांश

सोमबार नेप्से परिसूचक २ दशमलव ६३ अंक बढेर १ हजार २ सय ६० दशमलव ९० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २९ अंक बढेर २ सय ७० दशमलव २६ बिन्दुमा पुगेको छ ।

फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव १७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ९ अंक बढेको छ । यस दिन १ सय ७३ कम्पनीको ६ हजार १ सय ५६ पटकको कारोबारमा ४० करोड ३५ लाख ३८ हजार १ सय ४७ रुपैयाँबराबरको १३ लाख ७३ हजार १ सय २० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण

आरएसआई : नेप्सेको आरएसआई यस दिन ३७ दशमलव ३१ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव १८ रहेको छ । यसले नेप्से बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७३ कम्पनीमध्ये ८२ कम्पनीको सेयरमूल्य बढेको छ भने ६९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार २ सय ५५ दशमलव २९ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ४९ दशमलव ६८ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ ।

त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार २ सय ६५ दशमलव ७४ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय ७० दशमलव ५८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिनको पिभट बिन्दु भने १ हजार २ सय ६० दशमलव १३ रहेको छ ।

करिब ७ प्रतिशत बढ्यो अरुण भ्यालीको सेयरमूल्य

यस दिन कारोबारमा आएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य ६ दशमलव ७३ प्रतिशत बढेर १ सय ११ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

गोर्खाज फाइनान्सको सेयरमूल्य यस दिन ५ दशमलव १३ प्रतिशत बढेको छ । त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम र ङादी ग्रुप पावर लिमिटेडको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ ।

वृद्धिदरजस्तै कम्पनीहरूको सेयरमूल्य गिरावट दर पनि कम रहेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर, गुडविल फाइनान्स र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य कम्पनीहरूको सेयरमूल्य ४ प्रतिशतभन्दा कम दरमा घटेको छ ।

८ समूहको परिसूचक बढ्यो

यस दिन कारोबारमा आएका ११ समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ३ समूहको परिसूचक घटेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव शून्य ५ प्रतिशत बढेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक शून्य दशमलव ७५ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ७१ प्रतिशत, होटेल समूहको शून्य दशमलव ६२ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३१ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव १५ प्रतिशत र म्युचुअल फन्ड समूहको शून्य दशमलव शून्य ५ प्रतिशत बढेको छ ।

कारोबारमा आएका जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ३१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २३ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव १७ प्रतिशत घटेको छ  ।

सर्वाधिक कारोबार हुनेमा नेपाल बैंक

यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । कारोबार संख्याका आधारमा अगाडि रहेको शिवम् सिमेन्ट्स भने कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको छ ।

नेपाल बैंकको यस दिन २ सय १२ पटकको कारोबारमा ३ करोड २९ लाख ३ हजार रुपैयाँबराबरको १ लाख २ हजार ४ सय १६ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको यस दिन ३ सय ५४ पटकको कारोबारमा ३ करोड २२ लाख ७८ हजार रुपैयाँबराबरको ४९ हजार ३ सय २५ कित्ता सेयर किनबेच भएको छ ।

प्रभु बैंकको कारोबार रकम यस दिन २ करोड नाघेको छ भने सिद्धार्थ बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक, अपर तामाकोसी हाइड्रोपावर र सानिमा बैंकको कारोबार रकम १ करोड नाघेको छ ।