धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
  • अनलाइनपाना संवाददाता
  • बुधबार, असार ४, २०७६
  • काठमाडौँ

डोटीको दिपायल सिलगढी नगरपालिका– ३ दिपायलमा कैँची प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका– ३ बस्ने ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार राति घरायसी कुरामा विवाद हुँदा श्रीमान कृष्ण नेपालीले उनकी श्रीमती मिनाको घाँटी र ढाडमा लुगा काट्ने कैँची प्रहार गरी विभत्स हत्या गरेका हुन् । हत्या गर्ने कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

किशोरी बेचबिखनको अभियोगमा तीन जना भारतीय नागरिक पक्राउ

किशोरी बेचबिखनको आरोपमा तीन जना भारतीय नागरिक थुनामा परेका छन् । जिल्ला अदालत पाल्पाले उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । २ जना बालिकासहित एक युवतीसँग विवाहको नाटक गरेर भारततर्फ लैजाने क्रममा पाल्पा प्रहरीले भारत बिहारस्थित बेतीयाका २१ वर्षिय मनोहर कुमार, २० वर्षका अभिजित कुमार र १९ वर्षका कालु कुमारलाई पक्राउ गरेको थियो ।

जिल्ला न्यायधीश शंकरराज बरालको एकल इजलाशले नेपाली किशोरी बेचबिखनको अभियोग लागेका उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनीहरूलाई मानव बेचिबखनसम्बन्धी मुद्धा अनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको अदालतका श्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभयो ।

गुल्मी धुर्कोट गाउँपालिकाका बालिका र युवतीलाई तीनै जना युवाले विवाह गर्ने भनेर भारततर्फ लैजान लागेका थिए । बालिका र युवतीसहित उनीहरुलाई पाल्पाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकबाट पक्राउ गरिएको थियो । दुबै जना बालिका र युवतीको उद्दार गरी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।