कांग्रेस र राजपाबीच कार्यगत एकता
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, असार २६, २०७६
  • काठमाडौँ

सर्लाही घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने विषयमा संसद्मा प्रमुख विपक्षी दल कांग्रेस र राजपा नेपालबीच कार्यगत एकता देखिएको छ । यही विषयलाई लिएर मंगलबार संयुक्त रूपमा सदन अवरोध गरेका दुई दलले बुधबार पनि नाराबाजी जारी राखे । यद्यपि, नाराबाजीका बीच पनि सदन चल्यो ।

सर्लाहीमा ५ असारमा प्रहरीको गोली लागेर विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । असार १४ मा सर्लाहीकै ईश्वरपुरमा खाल्डोमा डुबेर बालकको मृत्यु भयो । त्यसको विरोधमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक युवकको ज्यान गएको थियो । सरकारले छानबिन समिति गठन गरे पनि सत्य लुकाएको भन्दै दुई दलले संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले संसदीय छानबिन समिति गठन नभएसम्म सदन सञ्चालन गर्न साथ नदिने बताए । राजपा नेपालका संयोजक अनिलकुमार झाले सर्लाही घटनाबारे कांग्रेससँग सल्लाह भएको स्वीकार गरे । ‘सर्लाहीको घट्नाबारे कांग्रेससँग सल्लाह भएको हो । त्यसैले हामी सदनमा एकमत देखिएका हौँ,’ उनले भने ।

सत्तापक्षले भने संसदीय छानबिन समिति आवश्यक नरहेको, संसद्कै राज्यव्यवस्था तथा सुशासन समितिको कार्यक्षेत्रभित्र पर्ने विषय भएकाले उसैले उपसमिति गठन गर्न सक्ने बताएको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङले सहमति भइसकेको र क्षतिपूर्ति दिने टुंगो लागिसकेको अवस्थामा घटनालाई फेरि उक्साउन नहुने बताए ।

अवरोधका बीच ६ मिनेट चलेको संसद् बैठकमा प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा स्वीकृतिका लागि गएका विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुबहु पुनः प्रतिनिधिसभामा सन्देशसहित टेबुल भयो । यससँगै सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि प्रस्तुत गरेको बजेटसम्बन्धी विधेयक प्रमाणीकरणको बाटो खुला भएको छ ।

नयाँ पत्रिका दैनिकबाट