कांग्रेसका मेयरले जितेको धनगढी उप–महानगरपालिका देशभरीकै उत्कृष्ट
  • अनलाइनपाना संवाददाता
  • शुक्रबार, फाल्गुन ३, २०७५
  • कैलाली

योजना कार्यान्वयनमा कैलालीको धनगढी उप–महानगरपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । नगरविकास कोषबाट सञ्चालित योजनाहरु कार्यान्वयनमा उप–महानगरपालिका देशकै पहिलो बन्न सफल भएको हो ।

नगरविकास कोषले देशमा रहेका २१७ वटा नगरपालिकाहरुमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप–महानगरपालिकालाई सम्मान गरेको छ ।

कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सम्मानपत्र प्रदान गरिएको छ । शहरी विकासमन्त्री महम्मद इश्तियाक राईले उपमहानगर प्रमुख वडलाई प्रमाणपत्र प्रदान गरेका हुन । मेयर वड नेपाली कांग्रेसको तर्फबाट मेयरमा विजयी बनेका हुन् । उक्त कार्यक्रममा शहरी विकासमन्त्री राईले धनगढी उप–महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए ।

उनले भने, ‘स्थानीय तह बिच राम्रा सिकाइहरु हस्तान्तरण गरिनु पर्छ,’ उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान ग्रहण गर्दा आफूहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए ।