अमेरिकामा सडक दुर्घटनाबाट वृद्धवृद्धासहित ३ नेपालीको मृत्यु
  • अनलाइनपाना संवाददाता
  • बिहिबार, भदौ १९, २०७६
  • काठमाडौँ

मंगलबार अमेरिकाको मिजौरी राज्यमा भएको सवारी दुर्घटनामा परी वृद्धवृद्धासहित तीन नेपालीको मृत्यु भएको छ ।

स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन् । घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीय छोरा सौर्य घाइते भएका छन् । प्रभासको अवस्था स्थिर रहेको र बालिकाको अवस्थाभने चिन्ताजनक छ ।

मिजौरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले जनाएको छ । गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ ।