अमेरिकाले गर्यो तालिबानसँगको शान्ति सम्झौता भंग
  • अनलाइनपाना संवाददाता
  • आइतवार, भदौ २२, २०७६
  • काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन् । अफागानिस्तानमा तैनाथ रहेका पाँच हजारभन्दा बढी आफ्ना सेना फिर्ता गर्ने घोषणाको केही दिनपछि नै ट्रम्पले तालिवानसँगको सम्झौता नै नमान्ने घोषणा गरेका हुन् ।

श्रृंखलावद्ध ट्वीटमा उनले आइतवार क्याम्प डेभिडमा आफूले तालिबानका वरिष्ठ नेताहरूसँग भेट्ने कार्यक्रम तय गरिएको र अब त्यो रद्द भएको बताएका हुन् । काबुलमा भएको हमलामा एकजना अमेरिकी सेनाको पनि ज्यान गएको तालिबान समूहले स्विकारेपछि उनले उक्त बैठक स्थगित गरेका हुन् ।

तालिबानसँगका अमेरिकी वार्ताकार जालमाइ खलिलजादले सोमवार तालिबानसँग शान्ति सम्झौता भएको घोषणा गरेका थिए । प्रस्तावित सम्झौता अनुरूप अमेरिकाले २० साताभित्र ५४ सय सैनिक अफगानिस्तानबाट फिर्ता लैजानुपर्ने थियो । यद्यपि खलिलजादले यसको अन्तिम निर्णय ट्रम्पले नै गर्ने बताएका थिए । अफगानिस्तानमा अहिले १४ हजार अमेरिकी सेना छन् ।

बिहीवार तालिबानले जिम्मेवारी लिएको कार बमले काबुलमा एक अमेरिकी सेनासहित १२ जनाको ज्यान गएको राष्ट्रपति ट्रम्पले बताए । उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो नेतृत्वको मिसनमा सेवा गरिरहेका रोमानियाका एकजना सेना पनि उक्त हमलामा मारिएका थिए ।

उक्त हमलाले तालिबानसँग अमेरिकाले गर्ने वार्ताले अफगानिस्तानमा दैनिक हुने हिंसा र सर्वसाधारणको मारिने संख्याको अन्त्य नहुने देखाएको आशंका गरिएको छ ।

बीबीसी