सिक्सर पेस्तोल र लागू औषधसहित ३ युवक पक्राउ
  • अनलाइनपाना संवाददाता
  • बुधबार, भदौ २५, २०७६
  • काठमाडौँ

सिराह जिल्लाको बिष्णुपुर गाउँपालिका–४ थलाहाकट्टा बस्ने ३० वर्षीय कृष्ण यादव सिक्सर पेस्तोल १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ परेका छन् ।

यादवले पेस्तोल देखाई घरपरिवारलाई धाकधम्की दिई घरमा तोडफोड गरी भाग्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहा, ईलाका प्रहरी कार्यालय विष्णुपुर र प्रहरी चौकी बेल्हाबाट खटिएको संयुक्त टोलीले यादवलाई पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । निज यादवमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यस्तै धादिङको थाक्रे गाउँपालिका–७ हाप्सेचौरबाट मकवानपुर थाहा नगरपालिका(१२ बस्ने १८ वर्षीय रामबहादुर वाइबा तामाङलाई लागूऔषध चरेश जस्तो देखिने खैरो पदार्थ करिब १ केजी सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट हाप्सेचौरबाट खटिएको प्रहरीले मकवानपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ७७१८ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसबाट उनलाई उक्त परिमाणको लागू औषधसहित पक्राउ गरेको हो ।

यस्तै रौतहटकाे गौर नगरपालिका-१ मेनचौकबाट नियन्त्रित लागूऔषध सहित चन्द्रपुर नगरपालिका-६ देउराली चोक बस्ने २६ वर्षीय संजय तिमल्सिनालाई मंगलबार दिउँसो प्रहरीले डाइजेल्याब ३३ एम्पुल, फेनारगन ३३ एम्पुल, नोर्फिन ३३ एम्पुल, नाइट्राभेट २७ टयाब्लेट र एभिल ईन्जेक्सन २ थानसहित पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ छ ।